काठमाडौं, २१ जेठ। राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीयता विरोधी बजेट आएको बताएका छन्। मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए।‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे। प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे।’
आफूहरुले ‘केपी ओली मार्का’को नभइ स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको उनको भनाइ थियो। विदेश नीति, राष्ट्रिय सुरक्षा, मौद्रिक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो।’
महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे। उनले भने, दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस्।’
सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे। ‘संसदहरु चुनावमा जाँदा धर्मसाला बनाइदे, हृयाण्डपाइप माग्दो रहेछ। सांसद भएपनि माग्दो रहेछ’ उनले भने, ‘निर्वाचन प्रणाली नै यस्तै हो। समानुपातिकमा लैजाउँ न।’



लाेकपाटी न्यूज

