चितवन, २० जेठ । भरतपुर महानगर प्रमूख रेनु दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले स्थानीयलाई नै बढी लाभ दिने बताएकी छन्। उनले रंगशाला निर्माणको बाटो विस्तारसँगै स्थानीयको पनि उठिवास गराइँदैछ भन्ने भ्रम फैलाइएको समेत बताएकी छन्।
रंगशाला निर्माणको क्रममा भएको घटनाले आफूलाई अत्यन्तै दुःखी बनाएको बताउँदै महानगर प्रमुख दाहालले भनिन्, ‘डीपीआर नबन्दासम्म सडकको विषयलाई लिएर तोडफोडमा उत्रनु अत्यन्तै दुःखद भएको छ ।’
भरतपुर महानगरको वडा नम्बर ७ ले आयोजना गरेको आर्थिक वर्ष २०७६÷७७ को योजना छनौट तथा वडा भेलालाई सम्बोधन गदै प्रमूख दाहालले देश तथा विदेशबाट सहयोगको माहोल बनिरहँदा यस्तो घटना घट्नु दुःखद भएको बताइन्।
उनले करिब ३० हजार अट्ने क्रिकेट स्टेडिम बनाउँदै गर्दा स्थानीयलाई उठिवास गर्छ भनेर भ्रम फैलाइएको हुनाले नै यस्तो घटना घट्न गएको बताइन्। उनले भनिन्, ‘राष्ट्रिय गौरवका योजना बनाउँदा कहीँ कतै स्थानीयको सहयोग चाहिएमा क्षतिपूर्ति व्यवस्था हुन्छ, उठिबास गराइन्छ भनेर भ्रम फैलाइएको मात्र हो ।’
अहिले दुई वर्षको प्रगति विवरण हेर्दा धेरै काम सडकमा भएको भन्दै उनले सधैं सडकको विकासमा मात्रै महानगर नलाग्ने भन्दै अब आर्थिक वर्षबाट महानगर उत्पादनमूखी कार्यमा लाग्ने समेत बताइन्। भरतपुरले देखेको विकासको सपना टाढा नरहेको भन्दै कृषिलाई पहिलो प्राथमिकता दिई सबै खालका व्यापार व्यवसायलाई करको दायरामा ल्याउने समेत उनले बताइन् ।
वडा नं ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले वडा नम्बर सातले स्थानीयको जनचाहना अनुसार काम गरेको भन्दै सबैको साथ र सहयोगले ७ नम्बर वडालाई वातावरणमैत्री वडा घोषणा गर्न सफल भएको बताए । वडाले महानगरकै नमुना चिल्ड्रेन पार्क बनाउनेदेखि सडक, यातायात, बिजुली, ऐलानी जग्गा खोज्ने, ड्रेन निर्माण लगायतका उल्लेखनीय कार्य गरेको छ ।
कार्यक्रममा सिर्जनशील समाज नेपालका अध्यक्ष विनोद ढकालले वडा नम्बर ७ को योजनामा कुनै वृद्धवृद्धा पनि सडकमा रहने छैनन् भनेर समोवश गर्न सके आफूले वृद्धवृद्धाहरुको संरक्षण गर्ने भन्दै पर्यटन, शिक्षा, ढल निकास, प्लाष्टिकको झोला निषेध, सिँचाईको जग्गा व्यवस्थापन लगायतका काममा हातेमालो गर्न तयार रहेको बताए।
कार्यक्रममा वडा नम्बर २२ का वडा अध्यक्ष विष्णु महतोले महिला दिदीबहिनीहरुलाई उत्पादनमूखी कार्यमा जोड दिन सकेको खण्डमा मात्रै समग्रमा सबैको विकास हुन सक्ने बताए।
कार्यक्रममा क्यान्सर समाज नेपालका श्याम लामिछाने, नेकपाका प्रतिनिधि शंकर लोहनी, पूर्व वडा अध्यक्ष शिव भट्टराई, नेपाली कांग्रेसका बुथ सभापति काशीराम अधिकारी लगायतले आउँदो आर्थिक वर्षमा समेट्नुपर्ने विषयका बारेमा मन्तव्य दिएका थिए।



लाेकपाटी न्यूज

