शिक्षिकाले कुट्दा १४ विद्यार्थी घाइते

kutpit
लाेकपाटी न्यूज

रोल्पा, २० जेठ। रोल्पामा शिक्षकको कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन्। रोल्पाको रुन्टीगढी गाउँपालिकामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिकाले कुट्दा उनीहरु घाइते भएका हुन्।

गाउँपालिकाको ८ नम्बर वडामा रहेको भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट कक्षा १ देखि ८ सम्म पढ्ने १४ जना विद्यार्थी घाइते भएका हुन्। उनीहरूमध्ये पाँच जनाको दाङको तुलसीपुरमा रहेको सहारापोलिक्लिनिकमा उपचार भइरहेको छ भने अन्य ९ जना विद्यार्थीको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ।

घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातमा गम्भीर चोट लागेकाले प्लास्टर गरिएको छ। शिक्षिकाको कुटाइबाट कक्षा ३ मा पढ्ने नरबहादुर घर्तीको कानको जाली फुटेर सुन्न छोडेको अभिभावक प्रताप घर्तीले बताए।

विद्यालयमा ढिलोगरी आएको भन्दै आफूहरू लाइन लागेको बेला शिक्षिक पुनले अन्धाधुन्ध लठ्ठी प्रहार गरेको पीडित विद्यार्थीहरुको भनाई छ। शिक्षिकाले कुटपिट गर्दा आफूहरु रोइकराई गरेको भए पनि अन्य शिक्षक शिक्षिकाहरु छुट्याउन नआई हेरेर बसेको विद्यार्थीहरु बताउँछन्।

घटना जेठ १२ गते भएको भए पनि वडाध्यक्ष भीमबहादुर घर्तीको रोहबारमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र भएका कारण एक हप्तापछि मात्र बाहिर आएको हो। पीडित पक्षले इलाका प्रहरी कार्यालय होलेरीमा जेठ १९ गते उजुरी दिएपछि घटना बाहिर आएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्