किन पर्छ साँझपख मात्र पानी ?

Night Rain
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ। सोमबार पनि काठमाडौं उपत्यकासहित देशका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अहिले देशैभरको मौसम बदली भएको छ। यसकारण देशका जुनसुकै स्थानमा वर्षा हुने सम्भावना छ। ‘देशभर नै वर्षाको सम्भावना रहेकाले यही ठाउँ भनेर किटान गर्न गाह्रो छ,’ उनले भने, ‘अलि बढी सम्भावना पूर्वी पहाडमा छ।’ किनकि अहिलेको बदली पूर्वी क्षेत्रबाट भित्रिएको बंगाल खाडीको जलवाष्पयुक्त हावाले भएको हो। तर, अन्य स्थानमा पनि पानी पर्ने सम्भावना उत्तिकै रहेको मौसविद् रिमालले बताए। अपराह्न या साँझपख वर्षा हुने उनको भनाइ छ।

उनका अनुसार काठमाडौं उपत्यकामा पनि अहिले मौसम पूरै बदली भएको छ। ‘काठमाडौंमा केहीबेरमै पनि वर्षा हुन सक्ने सम्भावना छ,’ उनले भने, ‘तर अपराह्न वा साँझपख पनि हुन सक्छ।’

यस्तै आज पश्चिम तराई क्षेत्रमा पनि पानी पर्ने प्रबल सम्भावना देखिएको उनले बताए। उनका अनुसार त्यस क्षेत्रमा एक महिनायता पानी नपर्दा गर्मी बढेको छ। ‘आज चाहिँ त्यस क्षेत्रमा पनि छिटफुट वर्षाको सम्भावना देखिएको छ,’ उनले भने, ‘आजबाट पश्चिमको तराई क्षेत्रमा जारी उकुसमुकुस गर्मीबाट छुट्कारा पाउने देखिन्छ।’

केही दिनयता लगातार साँझपख वर्षा भइरहेको छ। मौसमविद् सुवास रिमालका अनुसार अहिलेको मौसम बदली बंगाल खाडीबाट आएको जलवाष्पयुक्त वायुले भएको हो।

जुन वायु पूर्व बिहान-दिउँसोभन्दा अपराह्न तथा बेलुकीपख बढी सक्रिय हुन्छ। यसैकारण केही दिनयता नेपालमा साँझपख वर्षा भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्