रूपलाल विश्वकर्माको पुस्तकमाथि नारायण शर्माको टिप्पणी

7
लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ । बाम बुद्धिजिवी नारायण शर्माले लेखक डा. राजेन्द्रप्रसाद रेग्मीद्वारा लिखित ‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ नामक पुस्तकको टिप्पणी गरेका छन्।

उनले पुस्तकको विमोचन कार्यक्रममा जान अनुकूल नपरेको भन्दै सामाजिक रुपान्तरण अभियानका एक जुझारु अभियन्ता रुपलाल विश्वकर्मा र उनका विचार, भावना र कार्यप्रती हार्दिक सम्झना, सम्मान र सलाम अर्पण गरेको बताएका छन्। ‘एउटा सुपरिचित र श्रद्धेय व्यक्तित्व र उहाँको जीवनजगतप्रतिका बुझाइ, भोगाइ, गराइ र भनाइहरुलाई उद्घाटित, सम्मानित र स्थापित गर्ने ध्येयले डा. राजेन्द्रजीले तयार गर्नु भएको खोज अनुसन्धानमूलक यो पुस्तक अवश्य पठनीय र सङ्ग्रहणीय छ,’ उनले भनेका छन्।

नेकपा (एकताकेन्द्र) को २०४८ मंसिरमा सम्पन्न एकता महाधिवेशन र त्यसबाट निर्मित केन्द्रीय समितिमा ३ वर्षजति मेरो उहाँसङ्ग परिचय र सहकार्य भए पनि उनका विचार र संघर्षका बारेमा जानकार भएकै कारण उनीप्रति लगाव रहेको बताएका छन्। ‘त्यसमाथि सच्चा कम्युनिस्ट पार्टी र नेताकार्यकर्ताहरु जुझारु हुनुपर्छ र यो जुझ्ने क्रममा पार्टी र आन्दोलन एकताबद्ध हुनुपर्छ। फुटेर होइन जुटेर मात्र प्रतिक्रियावादीमाथि विजय गर्न सकिन्छ भन्ने विश्वाससमेत भएर नै होला उनीहरुले गरेका जुगेटी जुटपानी संघर्ष, पूर्तिमघाट मनि एक्सन तथा हाम्रा चार पार्टीबीचको पार्टी एकतापछि त्यो विश्वास श्रद्धामा बदलिदै थियो।

त्यसमाथी उहाँ र कमरेड स्वनाम साथिको नेपाली सर्वहारा वर्ग गरिव दुःखी र भोकानाङ्गा जनताको संगठन र संघर्ष निर्माणप्रतिको बारम्बारको जोडजस्ता कुराहरुले मेरो मनमस्तिष्क भरिएकै थियो। तर, केन्द्रीय समितिको बैठकका बेलामा खासगरी रुपलालजीका विचार र भावनाहरु जसरी गड्गडाउनु पर्ने हो, त्यसो नभएर उहाँ त विचार राख्न पनि भयभीत जस्तो, पीडित जस्तो, मुर्झाएको जस्तो लाग्थ्यो। शायद यस्तो हुनुमा उहाँभित्र रहेका केही गम्भीर असहमती र पीडाहरुले काम गरेका थिए होलान्।

उनमा त्यो पीडा पनि क्रान्ति गर्ने भनेर पार्टी एकता गर्ने, तर क्रान्तिको प्रकृया सुरु गर्न पार्टी सुदृढ र अनुशासित बनाउने, ग्रामीण वर्ग संघर्षका कार्यक्रमहरु बनाउने आदि काम कारवाहीहरुका क्रममा बहस गर्दा भएको किचलोे र होंडलो देखेर हो वा नेताहरुमा त्यतिबेलै उनीहरुभित्र लुकेर रहेका अवसरवादी र क्यारिरिस्ट चिन्तन प्रवृत्ति र त्यसका कारण भइरहेका गुटवन्दी, लामवन्दी, सिमेण्टेड माइन्ड, भनाई र गराइका बीचको अन्तर देखेर भोगेर हो यस्तैयस्तै मलाई पनि अनुभूत हुन्थ्यो र म पनि त्यति बोल्ने गर्दैनथें।

खासगरी कामभन्दा कुरा धेरै गर्ने र त्यसैमा फूर्ती गर्ने कामरेडहरुको सोंच र संस्कार देखेर शायद कम्युनिस्ट नेताहरुमा त्यतिबेलै संकेतस्वरुप देखिएका र पछि छर्लङ्ग देखिन सक्ने आज देखिए जस्तै यस्तै गम्भीर विचलन र विकृतिका संकेतजन्य कामकुराहरुबाट वाक्क दिक्क भएर पछिल्लो चरणमा उहाँ कम्युनिस्ट पार्टी र आन्दोलनबाट अलि टाढै रहने प्रयास गर्नु भयो।

जसरी नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी र आन्दोलनका संस्थापक मूर्धन्य नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका कतिपय नेताहरु जीवनको उत्तराद्र्धमा पाखा लागेका थिए। हुनपनी अहिले तिनैमध्येका धेरैजसो सत्ता र भत्ताबाट मात्तीएका हाम्रा कतिपय कामरेडहरुका फूर्तिफार्ती, हालीमुहाली, अहङ्कार र ठुल्याइँ हेर्दा त्यो बुझाइ सही र दूरदृष्टियुक्त नै रहेछ भन्ने देखिन्छ।आज रुपलालजी भौतिक रुपमा पनि बांचिरहनु भएको भए यो चालढाल देखेर कि मर्ने कित मार्ने स्थितिमा हुनुहुन्थ्यो होला।

जेहोस् रुपलालजीप्रती सम्मान र सलामी तथा उहाँबारेको पुस्तक लेखक प्रकाशक विशेषतः डा.राजेन्द्रजीप्रती बधाई तथा अनुसन्धानमूलक अन्य थप कृतिहरु लेखन प्रकाशनको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्। शनिबार रुपलाल विश्वकर्माको स्मृति सभामा उनका योगदानहरुको समग्र मूल्यांकनस्वरुप विद्वान लेखक डा. रेग्मीको पुस्तक विमोचन गरिएको छ। लेखक डा. राजेन्द्रप्रसाद रेग्मीद्वारा लिखित ‘नेपालको राजनीतिमा रूपलाल विश्वकर्मा’ नामक पुस्तक विमोचन गरिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्