एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजदेखि बेलायत भ्रमण गर्ने भएका छन्। तीनदिने राजकीय भ्रमणका लागि पत्नी मिलानियासँगै उनी बेलायत जान लागेका हुन्।
एयरफोर्स वनको विमानमार्फत ट्रम्प स्थानीय समयअनुसार सोमबार बिहान ९ बजे स्टान्डस्टिड एअरपोर्टमा उनी अवतरण गर्ने बीबीसीले जनाएको छ। ट्रम्प र फस्र्ट लेडी मिलानियालाई बेलायतकी रानीलगायत सरकारी अधिकारीहरुले भव्य स्वागतको तयारी गरेका छन्। रानी एलिजावेथले ट्रम्पको सम्मानमा सोमबार बुकिङ्घम प्यालेसमा रात्रिभोजको आयोजना गरेकी छन्।
ट्रम्प सोमबार नै वेस्टमिनिस्टर ऐवीमा पनि जानेछन्। राजकुमार चाल्र्सलाई पनि उनले भेटघाट गर्ने कार्यक्रम तय भएको छ। ट्रम्प र रानीले बेलायतमा स्थायी बसोबास गर्दै आएकाहरु सहभागी हुने कार्यक्रममा सम्बोधन गर्ने बीबीसीले जनाएको छ।
तर, ट्रम्पविरुद्ध बेलायतका प्रमुख सहरहरुमा विरोध प्रदर्शनको तयारी भइरहेको छ। बेलायत सरकार यतिबेला ट्रम्पको स्वागतमा जुटेको छ। ट्रम्पको भ्रमण भव्य बनाउन विभिन्न कार्यक्रमहरुको तयारी गरिएको छ। यद्यपि, ट्रम्पका विरोधीहरुले विभिन्न स्थानमा उनीविरुद्ध प्रदर्शनको तयारी गरेका छन्।
बीबीसीका अनुसार, लन्डन, म्यान्चेस्टर, बेलफास्ट, बरमिंघम र नोट्टिंघमलगायतका स्थानहरुमा ट्रम्पविरुद्ध प्रदर्शनको तयारी भएको बीबीसीले जनाएको छ।



लाेकपाटी न्यूज

