काठमाडौं, २० जेठ। स्वास्थ्यमा समस्या आएपछि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै गएका पौडेल शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा भर्ना भएका हुन्।
आइतबार काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र गएका थिए। पौडेललाई अस्पतालले एक हप्ताका लागि भर्ना गरेको छ। ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ हुन्। निक्कै सक्रिय दैनिकी भएका पौडेल बुढ्यौली, उच्च रक्त चाप तथा मधुमेहबाट पीडित छन्। यसका बाबजुद पनि पौडेल दैनिक १८ घण्टासम्म क्रियाशील रहँदै आएका छन्।
यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा पौडेलको आँखाको मोतीया बिन्दुको शल्यक्रिया गरिएको थियो। पौडेलको गङ्गालाल हृदय रोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्ने छ।अस्पताल भर्ना भएसँगै एक हप्ताका लागि मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।
मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि २४ र २५ जेठमा हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ।


लाेकपाटी न्यूज

