काठमाडौं, १९ जेठ। प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गते युरोप भ्रमण जाने भएका छन्। प्रधानमन्त्री ओली २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जाने भएका हुन्।
परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे औपचारिक जानकारी गराएको हो। प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए।
त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गर्नेछन्। त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्नेछन्।
प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनेछन्। परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्ने बताए। प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्किने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



लाेकपाटी न्यूज

