सिन्धुली, १९ जेठ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन्। प्रेस संगठन नेपाल सिन्धुलीले सिन्धुलीमाढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले यस्तो हल्लाको पछि नलाग्न आग्रह गरे।
अर्को प्रसङ्गमा उनले अहिलेको बजेटले नेपालीको जीवनस्तरमा गुणात्मक सुधार गर्ने बताए। वाम चुनावी घोषणापत्रलाई आधार बनाएर अल्पकालीन र दीर्घकालीन विकासका अवधारणा अघि सारिएको बताउँदै उनले भने, ‘सामाजिक न्यायसहितको द्रूत आर्थिक विकासको नीति र समाजवादउन्मुख अर्थतन्त्रको आधारशिला बजेटले निर्माण गरेको छ, अब आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रिय पूँजीको विकास गरी नेपालीलाई उन्नत समाजवादी दिशातर्फ अघि बढाउने संकल्प हामीले लिएका छौँ।’
शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा नीति र कार्यक्रम अघि सारी अब जीवनस्तर गुणात्मक सुधार गर्न बजेटले सम्बोधन गरेको उनको भनाइ थियो। उनले अहिलेको सरकारले पूर्वाधार बनाउने र पूर्वाधारले राष्ट्रलाई समृद्ध बनाउने विश्वास व्यक्त गरे।



लाेकपाटी न्यूज

