सेनाका लागि बम बनाउने कारखानामा विस्फोट हुँदा ७९ घाइते

Blast
लाेकपाटी न्यूज

एजेन्सी। रुसको सेनाका लागि बम बनाउने र भण्डारण गर्ने कारखानामा विस्फोट भएको छ। रुसको जशिंस्क शहरस्थित उत्त कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका हुन्।

विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ। अधिकारीहरूका अनुसार विस्फोटका कारण जेएससी क्रिस्टल इन्स्टिट्युटमा अवस्थित उक्त कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ।विस्फोटका बेला पाँचजना कारखानाभित्रै थिए, तर उनीहरूको सकुशल उद्धार गरिएको एक अधिकारीले बताए।घाइतेमध्ये अधिकांशलाई विस्फोटबाट फुटेका सिसाले चोट लागेको थियो। विस्फोटका कारण कम्पन हुँदा नजिकका घरका र अरू कारखानाका झ्यालका सिसाहरू फुट्न पुगेका थिए।

जशिंस्क शहरका अधिकारीहरूले घटनास्थल वरपरका क्षेत्रमा आपत्काल घोषणा गरेका छन्। रुसको अनुसन्धान समितिले कारखानामा सुरक्षासम्बन्धी मापदण्डको सम्भावित उल्लङ्घन हुन सक्ने भन्दै फौजदारी अनुसन्धान थालिएको जनाएको छ।

स्थानीय स्वास्थ्य मन्त्रालयको एउटा विज्ञप्तिमा भनिएको छ, ताजा विवरण अनुसार क्रिस्टलमा भएको विस्फोटपछि ७९ जनालाई चिकित्सकीय सहयोग मागिएको छ जसमध्ये ३८ जना कारखानाका कामदार र ४१ जना शहरका बासिन्दा छन्। घाइतेमा बालबालिका छैनन्।

यसैबीच स्थानीय बासिन्दाले घटनास्थलबाट ठूलो मात्रामा धूँवा निस्किँदै गरेका तस्वीरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। अधिकारीहरूले कारखानाको एउटा प्लान्टमा बम नभई प्राविधिक चीज विस्फोट हुँदा एक सय वर्गकिलोमिटर वरपरसम्म आगो लागेको बताएका छन्।