काठमाडौं, १९ जेठ। साउन १ गतेदेखि लागू हुने गरी इन्टरनेटको मूल्य बढ्ने भएको छ। बजेट सार्वजनिक भए लगत्तै इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको मूल्य बढाउने तयारी गरेका हुन्।
अघिल्लो वर्ष इन्टरनेटमा थपिएको १३ प्रतिशत महसुल सर्वसाधारण उपभोक्ताबाट नउठाउने सहमति गरेका सेवा प्रदायकले अब भने मूल्य बढाउने तयारी गरेको बताए। ‘अघिल्लो वर्ष राखिएको १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क यो वर्ष फिर्ता हुने अपेक्षा थियो,’ इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पान अध्यक्ष भोजराज भट्टले भने, ‘अब पनि मूल्य समायोजन गरेर बस्न सक्दैनौं, हामी वित्तीय रूपमा नाजुक अवस्थामा छौं ।’
अघिल्लो वर्ष सरकारसँग सहमति गरेर सर्वसाधारण उपभोक्ताबाट १३ प्रतिशत सेवा शुल्क नउठाएकाले अब यो शुल्क सर्वसाधारणसँग उठाउने उनउनको भनाइ छ। ‘अघिल्लो वर्ष भएको घाटा पनि उठ्ने गरी भाउ बढाउने तयारी छ,’ उनले भने, ‘इन्टरनेटको मूल्य अब २० प्रतिशतसम्म बढ्न सक्छ ।’ चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएका थिए। दूरसञ्चार सेवा दस्तुर शीर्षकको यो शुल्क यो चालु आर्थिक वर्षअघि भ्वाइस सेवामा मात्रै लाग्थ्यो। टेलिफोन, मोबाइल, इन्टरनेटजस्ता दूरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महसुलको १३ प्रतिशत रकम दूरसञ्चार सेवा दस्तुरबापत असुलउपर गर्नुपर्नेछ।’
इन्टरनेटको मूल्य समायोजनमा सघाएबापत सञ्चार मन्त्रालयले सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणको विनियमावली संशोधन गरी केही सुविधा दिने प्रतिबद्धता जनाएको थियो। सरकारले गरेको प्रतिबद्धता अहिलेसम्म पूरा नभएको आइस्पान अध्यक्ष भट्टले बताए।
‘सरकारसँग गरेको सहमति कार्यान्वयन गर्न सक्दनौं,’ उनले भने, ‘अब दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउँछौं ।’ उनले यो अवधिमा सरकारलाई आफूसँगको सम्झौता कार्यान्वयन गर्न दबाब दिने बताए।



लाेकपाटी न्यूज

