अन्तत: विप्लव पनि नेकपामै मिसिन आउँछन् : अध्यक्ष प्रचण्ड

Prachanda_gautam_buddha_stadium-e1548851590915
लाेकपाटी न्यूज

काठमाडौं, १९ जेठ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तत: नेत्रविक्रम चन्द पनि नेकपामै मिसिन आउने दावी गरेका छन्।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्ष प्रचण्डले विप्लवका पोलिट्ब्युरो सदस्य पदम राईलाई नेकपा प्रवेश गराउँदै सो भनाइ राखेका हुन्।

पोलिटब्युरो सदस्य राईलाई आइतबार नेकपा प्रवेश गराउँदै प्रचण्डले हिंसाले गन्तव्यमा नपुगिने बताए। उनले अरु व्यक्ति र पार्टीलाई पनि पूर्वाग्रह नराखी नेकपामा मिसिन आग्रह गरे। अहिलेको हिंसात्मक बाटो गलत रहेको उल्लेख गर्दै उनले देशले एउटै ठूलो कम्युनिष्ट पार्टी खोजेको बताए।

राई विप्लव समूहमा सरकारसँग वार्ता गर्नुपर्छ भन्ने लाइनमा थिए। यही कारण उनलाई चन्द समूहले हालै पार्टीबाट निलम्बित गरेको थियो।