भक्तपुर, १८ जेठ। खानेपानी मन्त्री बीना मगरले ३ लाख लिटर क्षमताको पानी ट्याङ्कीको उद्घाटन गरेकी छिन्।शनिबार मन्त्री मगरले भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर ८ स्थित सिपाडोलमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्कीका शिलान्यास गरेकी हुन्।
सिपाडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको सक्रियतामा बन्न लागेको उक्त पानी ट्याङ्कीको शिलान्यास गरिएको हो। उपभोक्ता समितिले स्थानीयहरुको लगानी रहेको सिपाडोल बचत तथा ऋण सहकारी संस्था र सूर्य विनायक नगरपालिकाको संयुक्त लगानीमा पानी ट्याङ्की निर्माण गर्न लागेको छ।
खानेपानी आयोजनामा सहकारीको लगानी रहेकोले यो नै अबको नयाँ मोडालिटी हुने समितिको भनाइ छ। उक्त ट्याङ्कीको कूल लागत ६५ लाख रहने समितिले जनाएको छ। पानी ट्याङ्की निर्माण सम्पन्न भइसकेपछि पछि करिब १५ हजार जनसंख्या खानेपानीबाट लाभान्वित हुनेछन्।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुर्याउन सरकार योजना बनाएर अघि बढीरहेको बताइन्। उनले भनिन्, ‘खानेपानीको क्षेत्रमा देशै भरी उपभोक्ता समितिहरुको लगानी रहेको छ। त्यसमा राज्यको पनि लगानी हुन्छ। कतिपय अवस्थामा खानेपानीका लागि लगानी जुटाउनु पर्ने चुनौती रहेकोे बेला सहकारीले यसरी लगानी गर्दा आयोजना अगाडि बढाउन र्गाहो हुँदैन। यो सोच र मोडालिटी खानेपानीको लागि उपयोगी हुनेछ।’
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले खानेपानीको लागि यसरी गरिने सामुहिक लगानी अति महत्त्वपूर्ण रहेकोे बताए।



लाेकपाटी न्यूज

