सांसदलाई दश करोड चाहिन्छ : डा. खड्का

Dr. Khadka
लाेकपाटी न्यूज

काठमाडौं, १८ जेठ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँलाई बढाएर दश करोड पुर्याउनुपर्ने बताएका छन्। डा. खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैया स्वागतयोग्य भएको भन्दै सांसदलाई विकाससँग जोड्नको लागि पनि यो गर्नुपर्ने बताए।

अमेरिका, भारतलगायतका देशमा पनि यो कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन भैरहेको उदाहरण दिँदै उनले यसमा कसैले विरोध गर्नुको औचित्य नभएको पनि जिकिर गरे। उनले भने, ‘कसैले सस्तो लोकप्रियताको नाममा यो कार्यक्रमको विरोध गर्नुको अर्थ छैन्।’ संघीयतालाई बलियो बनाउनको लागि पनि यो आवश्यक रहेको उनको भनाई छ।

उनले आर्थिक क्रियाकलापको आधार कमजोर भएको स्पष्ट पारेका छन्। सामाजिक सुरक्षाको दायित्व झण्डै ७० अर्वको हाराहारीमा पुगेकोमा पनि खड्काले चिन्ता व्यक्त गरे। पुँजीगत खर्च ४५ प्रतिशतभन्दा बढि हुन नसकेकोमा खड्काले गुनासो पोखे। उनले भने,‘हामीले प्राप्त गरेको मन्त्रालयगत पुँजीगत खर्चको विवरण हेर्दा ४५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ। अरुभन्दा कम खर्च अर्थ मन्त्रालयको देखिएको छ, एकदमै कम छ।’

खड्काले सामाजिक सुरक्षाको दायित्व बढि भएको भन्दै भेनेजुएलाको जस्तै अवस्था आउनसक्ने खतरा पनि औंल्याए। पछिल्लो दश महिनामा ११ खर्बको व्यापार घाटा रहेको तथ्यांक सुनाउँदै खड्काले बजेट कार्यान्वयनमा पनि समस्या रहेको सुनाए।

३५ अर्वभन्दा बढिको चामल आयात हुने गरेको सुनाउँदै उनले कृषिजन्य सामान त १ खर्ब हाराहारीमा आयत हुने गरेको पनि सुनाए। उनले भने,‘नेपालको अर्थतन्त्र लाहुरे खालको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्