केपी ओलीले नै पाँच वर्ष सरकार चलाउनुहुन्छ : प्रचण्ड

Prachanda chitwan
लाेकपाटी न्यूज

धरान, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणको बेला भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको बताएका छन्।

सुनसरी क्षेत्र नं. १ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउन सक्ने बताए।“हामी निरन्तर संवादमा छौं। पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ”, प्रचण्डले भने, “सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं। मिडियाका पछि नलाग्न म आग्रह गर्दछु ।”

अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए। उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराए।