अमेरिकाले गुगलमाथि अनुसन्धान गर्ने

google
लाेकपाटी न्यूज

एजेन्सी। गुगलले एन्टीट्रष्ट कानूनको उलङ्घन गरेको भन्दै गुगलमाथि अनुसन्धान थालिने भएको छ। अमेरिकाले घरेलु बहुराष्ट्रिय सर्च इञ्जिन कम्पनी गुगल इङ्कमाथि अनुसन्धान गर्नेे भएको हो।

बजार प्रतिस्पर्धासम्बन्धी (एन्टीट्रष्ट) कानूनको उल्लंघन गरेको भन्दै न्याय मन्त्रालयले अल्फावेट इङकको सहायक कम्पनी गुगलमाथि अनुसन्धान गर्ने तयारी गरिरहेको छ। वाल स्ट्रिट जर्नलले यसबारे छापेको समाचारअनुसार अनुसन्धानले कम्पनीको वेब सर्च र अन्य हिस्सालाई छुने छ।

ठूला कम्पनीहरुलाई टुक्र्याउन हुन्छ कि हुँदैन भन्नेबारे छलफल चलिरहेकै बेलामा यस्तो समाचार सार्वजनिक भएको छ। पछिल्लो समय अमेरिकामा कम्पनीमाथि राजनीतिक दबाब बढेको छ। सर्च नतिजामा भेदभाव गरेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत गुगल लगायत ठूला प्रविधि कम्पनीहरुको आलोचना गर्दै आएका छन्।

कम्पनीमाथि यस मामिलामा अमेरिकामै अनुसन्धान हुन थालेको यो नै पहिलो पटक भने होइन। एकाधिकार विरोधी कानून मिचेको भन्दै कम्पनी विगतमा पनि अनुसन्धानको दायरामा आएको थियो। सन् २०१३ मा अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)सँगको राफसाफमा गुगलले केही व्यापारिक अभ्यासमा परिवर्तन गर्ने सहमति जनाएको थियो।

सन् २०१० मा यूरोपेली आयोगले कम्पनीविरुद्ध यस्तै अनुसन्धान थालेको थियो। अनुसन्धानको अन्त्यमा सन् २०१७ मा कम्पनीलाई इयूले २ अर्ब ७० करोड डलर तिराएको थियो। सन् २०१६ मा पनि गुगलको अपरेटिङ सिष्टम एण्ड्रोइडसँग सम्बन्धित यस्तै अनुसन्धानमा कम्पनीलाई यूरोपेली आयोगले ५ अर्ब १० करोड डलर तिराएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्