पोखरा, १८ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले अबको यात्रा समृद्धि र विकास भएको बताएका छन्। नेपाल स्काउटको शनिवार पोखरामा शुरू भएको स्काउट युवा सम्मेलन(रोभर मुट)को उद्घाटन गर्दै उनले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताए।
देशको समग्र उन्नयनका लागि सङ्कृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उनले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गरे।युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रूपमा चलेको अभियान भएको बताए।
गौरवशाली पूर्खाको इतिहास र योगदानलाई अघि बढाएर तिनीहरूको संरक्षण गर्दै नयाँ निर्माणमा लाग्नुपर्ने आवश्यकता उनले औंल्याए। सभ्यता र संस्कृति जोगाउँदै समृद्धि तर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ। देशलाई अस्थिर बनाउन एकतालाई भाड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उनले जातीय, क्षेत्रीय सङ्कुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिए।



लाेकपाटी न्यूज

