मार्क जुगरबर्गलाई फेसबुकको अध्यक्षबाट हटाउने प्रयास असफल

Mark zuckerberg
लाेकपाटी न्यूज

एजेन्सी। मार्क जुगरबर्ग फेसबुकको प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष दुवै रहने भएका छन्। फेसबुकको वार्षिक साधारणसभामा बिहीवार भएको मतदानसँगै जुगरबर्गलाई अध्यक्षबाट हटाउन गरिएको एउटा प्रयास विफल भएको हो।

फेसबुकमा जुगरबर्गको ६० प्रतिशत शेयर छ र उनले मतदानमा आफैँले आफूविरुद्ध मत हालेको भए मात्रै उनी हार्ने थिए। उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्ने केही लगानीकर्ताले अध्यक्ष पद छाड्दा जुगरबर्गले कम्पनी सञ्चालनमा अझ ध्यान र्पुयाउन सक्ने तर्क गरेका थिए।

जुगरबर्गलाई अध्यक्षबाट हटाउने खोज्ने लगानीकर्ताहरूमध्येका एक ७० लाख डलर बराबरको शेयर भएको ट्रिलियम एसेट म्यानेजमेन्ट पनि हो। संसारको एउटा विशाल कम्पनीमा अहिले उनले जुगरबर्ग दुईवटा महत्त्वपूर्ण पद ओगटेका छन्।

यदि उनले प्रमुख कार्यकारी अधिकृतको भूमिकामा केन्द्रित भएर अरूलाई स्वतन्त्रतापूर्वक सञ्चालक समितिको अध्यक्षता गर्न दिए त्यो धेरै राम्रो स्थिति हुन्छ, ट्रिलियमका वरिष्ठ उपाध्यक्ष जोनस क्रोनले मतदानअघि भनेका थिए।

ल्यारी पेज र एल्फबेट तथा बिल गेट्स र माइक्रोसफ्टको दृष्टान्त दिँदै उनले संस्थापक नै सञ्चालक समितिको अध्यक्ष बनिरहन पर्दैन भन्ने उदाहरण भएको तर्क गरेका थिए। एक वर्षभन्दा लामो समयदेखिको गोपनीयता र सूचना सुरक्षासम्बन्धी प्रकरणहरूका बीचमा पनि फेसबुकले अपेक्षाभन्दा राम्रो कमाइ गरेको छ र अझ धेरै मानिसहरूका माझ पुगेको छ।

जुगरबर्गले साधारण सभामा स्वतन्त्र अध्यक्ष नियुक्त गर्ने सम्बन्धी प्रश्नको जवाफ दिन चाहेनन्। उनले फेसबुकलाई निर्देशित गर्न गोपनीयता र सूचनाका विषयमा नियामक संस्थाहरूले नियम बनाउनुपर्ने धारणा दोर्होयाए। साधारणसभा स्थलको बाहिर सानो समूहले फेसबुकले आफ्ना प्रयोगकर्ताहरूलाई संरक्षण नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्। अर्को समूहले भने फेसबुकले सेन्सर गरेको भन्दै प्रदर्शन गरेका छन्।

मे महिनामा फेसबुकका पूर्वसुरक्षा प्रमुख एलेक्स स्ट्यामोसले जुगरबर्गलाई प्रमुख कार्यकारीको पद छाड्न आग्रह गरेका थिए। क्यानडामा आयोजित एउटा कन्फरेन्समा बोल्दै उनले जुगरबर्गसँग अति धेरै शक्ति भएको न्यायसङ्गत तर्क भएको बताएका थिए।

जुगरबर्गले आफ्नो नेतृत्वको बचाउ गर्ने गरेका छन्। फेसबुकजस्तो अभूतपूर्व संस्था निर्माण गर्दा केही कुरा बिग्रिन सक्ने टिप्पणी गर्दै गत एप्रिलमा उनले भनेका थिए, ‘हामीले त्रुटिबाट सिकेका छौँ कि छैनौँ त्यसबाट मानिसहरूले हामीलाई उत्तरदायी बनाउनुपर्छ भन्ने मलाई लाग्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्