पोखरा। गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेशमा मापदण्ड विपरित सञ्चालन भएका क्रसर उद्योग तुरुन्त बन्द गर्न गराउन कडा निर्देशन दिएको छ।
समितिको स्थलगत अध्ययन अवलोकनका क्रममा मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन भएका तथा क्रसर उद्योग सम्वन्धी कार्यविधी कार्यान्वयनको अवस्था सन्तोषजनक नदेखिएको तथा अझै व्यापक जनगुनासाहरु भइरहेकाले समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कार्यविधि पूर्ण कार्यान्वयन गराउन पत्रमार्फत् निर्देशन समेत दिएको छ।
समितिका सभापति दीपक कोइरालाले बिहीबार लेखेको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा अर्थ तथा विकास समितिको २०७५ फागुन ९ मा प्रादेशिक अनुगमन समितिका संयोजक समेतको उपस्थितिमा बसेको बैठकमा आवश्यक छलफल भई ढुंगा, गिट्टी, बालुवा उत्खनन, क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालन गर्न व्यवस्थित गर्ने सम्वन्धी कार्यविधि, २०७५ पूर्ण कार्यान्वयन गराउन निर्देशन भएकोमा समितिको स्थलगत अध्ययन भ्रमणमा कार्यविधि कार्यान्वयनको अवस्था सन्तोषजनक नदेखिएको तथा अझै व्यापक जनगुनासाहरु भइरहेको हुँदा सो सम्वन्धमा समितिको ध्यानाकर्षण भएको जानकारी गराउँदै कार्यविधिको पूर्ण कार्यान्वयन गर्न गराउनु हुन निर्देशन गर्दछु।’
समितिले म्याग्दी, बाग्लुङ र पर्वतमा सञ्चालित उद्योगहरुको स्थलगत अध्ययन समेत गरेको थियो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत साउन ३० गते क्रसर उद्योग सम्वन्धी कार्यविधि तयार पारी ३ महिनाभित्र कार्यविधिभित्र रहेर क्रसर उद्योग सञ्चालन गर्ने भनेर निर्देशन दिए पनि अधिकांश क्रसर उद्योगहरु मापदण्ड विपरित सञ्चालनमा रहेका छन्।




लाेकपाटी न्यूज

