बुटवल, १६ जेठ। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले अहिलेको सरकारले कम्युनिष्टको बदनाम गरेको बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघको दोस्रो राष्ट्रिय सम्मेलनको बुटवलमा आज उद्घाटन गर्दै उनले अहिलेको सरकारले कम्युनिष्टको पक्षमा नभएर कम्युनिष्टको बदनाम गर्ने काम गरेकोले त्यसको विरोध गर्नुपर्ने बताएका हुन् ।
समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले लगाए पनि अहिलेको सरकारबाट त्यो सम्भावना नभएको वैद्यले दावी गरे । उनले प्रश्न गरे, ‘भर्खरै बजेट आएको छ, १५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ कसरी विकास हुन्छ ?’
उनले अहिलको सरकारले मिडियालाई अकुंश लगाउने विधेयक ल्याएर निरकुंश बन्दै गएको बताए। उनले यसका विरुद्ध शसक्त आवाज उठाउन जरुरी रहेको उनको भनाइ छ ।
विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलनमा आफ्नो पार्टी एकताबद्ध रहेको बताउँदै उनले पत्रकारहरुलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरे ।



लाेकपाटी न्यूज

