टोकियो। जापानमा विमानस्थलको सुरक्षाको जिम्मा रोबोटलाई दिइने भएको छ। जापानको नारिता विमानस्थलमा सुरक्षाका लागि रोबोटको प्रयोग गरिने भएको हो। जापानको चिबा प्रिफेक्चरको छिमेकमा रहेको नारिता विमानस्थल मध्य टोकियोमा पर्दछ। यस विमानस्थलमा सुरक्षा प्रयोजनका लागि रोबोटको प्रयोग गरिने भएको अधिकारीहरुले बताएका छन्। यस प्रयोजनका लागि चार ओटा रोबोट परिचालन गरिने छ।
स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार ती रोबोट १.२० मीटर उचाईका छन्। रोबोटमा ३६० डिग्रीको हिसाबमा निगरानी गर्ने क्यामेरा जडान गरिने छ। ती क्यामेराले सुरक्षाको राम्रो निगरानी राख्ने बताइएको छ। रोबोटबाट सुरक्षा निगरानी बढाइने यस प्रणाली यही जुन ३ तारिखबाट शुरुआत गरिने उक्त विमानस्थल प्रशासनले बिहीबार विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो।
सन् २०२० मा जापानमा ओलम्पिक खेलकूद हुदैछ। त्यस समयमा निकै धेरै विदेशीहरुको आगमन हुने र सुरक्षाकर्मीरुको पनि आवश्यकता हुनेछ। त्यतिन्जेल पनि यस विमानस्थलमा रोबोटकै प्रयोग गरिने अधिकारीहरुले जानकारी दिएका छन्।विमानस्थल प्रशासनले दिएको जानकारी अनुसार उक्त विमानस्थलको टर्मिनल १ मा दुई ओटा र टर्मिनल २ मा दुई ओटा रोबोटको जडान गरिने जनाइएको छ।
जापानले कामदारहरुको संख्या कटौती गर्ने नीति लिइरहेको छ। जसका कारण यसअघि पनि जापानका विभिन्न क्षेत्रमा र विशेषगरी सामान ढुवानी र यातायातमा रोबोटको प्रयोग गरि सकिएको छ।



लाेकपाटी न्यूज

