काठमाडौं, १६ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले संयुक्त अरव इमिरेट्स (युएई) लाई त्यहाँको आवश्यकता अनुसारका कृषि उपज उत्पादनमा जोड दिएर निर्यात गर्न चाहेको बताएका छन्।
नेपालका लागि युएईका राजदुत सइद हम्दान अल नाक्बीले मन्त्रालयमा गरेको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो बताएका हुन्। मन्त्री खनालले भने, ‘तपाईहरुको प्राथमिकता निर्धारण गर्नुस्, हामी त्यसका लागि व्यवसायिक उत्पादन गरेर निर्यात गर्छौं ।’
नेपालले खासगरि अर्गानिक कफि, अलैंची, गुणस्तरीय चिया, अगुवा लगायतका कृषि उपज निर्यात गर्न सक्ने मन्त्री खनालको भनाई छ । यसले दुई देशको व्यापारिक र पारस्परिक सम्बन्ध विस्तार हुने मन्त्री खनालले विश्वास व्यक्त गरे । त्यसका लागि युएईले आवश्यक परे प्राविधिक सहयोग गर्न सक्ने उनको भनाई छ ।
जवाफमा राजदुत नाक्बीले युएईले अधिकांश खाद्य पदार्थ चीन, भारत, पाकिस्तान लगायतका मुलुकबाट आयात गर्ने गरेको भन्दै नेपाल पनि उपयुक्त मुलुक हुन सक्ने बताए। त्यसका लागि चिया, कफि र पानी आफूहरुका लागि आयात गर्ने उपयुक्त वस्तु र मुलुक हुन सक्ने राजदुतको भनाई थियो ।
नेपालमा उत्पादन भएका केही कृषि उपज भारतले आफ्नो ट्याग लगाएर युएइ निर्यात गर्ने गरेको सुनाउँदै राजदुत नाक्बीले ब्राण्डिङ, लेवलिङ र प्याकेजिङमा ध्यान दिएर नेपाल आफैले निर्यात गर्न सक्ने सुझाव दिए। पानीको समस्या खेपिरहेको युएईले १४ वटा कम्पनी मार्फत समुन्द्रको पानी शुद्धिकरण गरेर उपयोग गरिरहेको राजदुतको भनाई छ ।



लाेकपाटी न्यूज

