रंगशालामा डोजर लगाउने प्रकाश पार्टीबाट निलम्बित, हतास नहुन प्रचण्डकाे आग्रह

Prakash-Karbahi-ncp
लाेकपाटी न्यूज

चितवन, १६ जेठ। चितवनको रामपुरमा निमार्णधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको तारबार भत्काउने कार्यको नेतृत्व गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ले प्रकाश कडेंललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।

नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै तारबार भत्काउने घटनाका मुख्य नाइके पार्टी सदस्य प्रकाश कँडेललाई सदस्यताबाट निलम्बन गरी कारबाही गरिएको बताए। विज्ञप्तिमा अर्का पार्टी सदस्य भैरव बस्ताकोटीलाई भने दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार, जिल्लाका सबै राजनीतिक पार्टी, भरतपुर महानगरपालिका लगायत सबैको सहयोग र सहानुभूति रहेको रंगशालाको निर्माणमा ठूलै हौसला बोकेर अगाडि बढेको धुर्मुस सुन्तली फाउण्डेसनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हाम्रो पार्टी नेकपा चितवन साथ र सहयोगका लागि हरदम तयार रहेको प्रतिवद्धता जनाउन चाहन्छ।’

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई फोन गरी हतास नहुन आग्रह गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ।