नयाँ बजेट : यी हुन् मूख्य १५ बुँदा

budget-dr. yubraj khatiwada
लाेकपाटी न्यूज

काठमाडाैं, १६ जेठ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट संघीय संसदमा पेश गरेका छन्। जसमध्ये चालू खर्चतर्फ ९ खर्ब ५७ अर्ब, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्ब रुपैयाँसहित १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन भएको छ। ‍

यस्ता छन्  नयाँ बजेटका मुख्य–मुख्य बुँदा 

१. सरकारले बजेटमार्फत् कर्मचारीको तलब बढाएको छ। राजपत्राङ्कित कर्मचारी (शाखा अधिकृतदेखि मुख्यसचिव) सम्मको तलब १८ प्रतिशतले बढेको छ भने राजपत्र अनङ्कित कर्मचारीको तलब २० प्रतिशतले बढेको छ।

२. अर्थमन्त्री खतिवडाले ७० वर्ष उमेरमाथिको वृद्धवृद्धाले पाउने सामाजिक सुरक्षा भत्ता अन्तर्गतको वृद्धभत्ता १ हजारले बढाएका छन्। खतिवडाले वृद्धभत्ता बढेको घोषणा गर्दा सत्तारूढ सांसदहरूले लामो समयसम्म ताली बजाए। भत्ता बढेसँगै अब वृद्धभत्ता बढेर मासिक  तीन हजार पुगेकाे छ।

३. अर्थमन्त्री खतिवडाले सांसदले आफूखुसी आयोजना छनोट गर्ने र बजेट खर्च गर्न सक्ने रकम बढाइदिएका छन्। गतवर्ष ४ करोड बजेट दिएका खतिवडाले यसवर्ष ६ करोड बजेट दिएका छन्। उनले यस्तो बजेट खर्च गर्ने कार्यविधि संशोधन गरेर प्रतिनिधिसभाका समानुपातिक र  राष्ट्रियसभाका सांसदलाई विनियोजनमा सहभागी गराउने जनाएका छन्।

४. सरकारले बजेट कार्यान्वयनको समस्या चिर्ने उपायका रूपमा आयोजना प्रमुखहरू निजामती सेवा बाहिरबाट ल्याउन सक्ने प्रावधान गर्ने भएको छ। हाल सरकारले सञ्चालन गर्दै आएका आयोजनहरूमा निजामती सेवाका कर्मचारी नै प्रमुख हुन्छन्। यसरी नियुक्त हुने प्रमुखहरू आयोजनाको अवधिभर रहनेछन्।

५. सरकारले बजेट कार्यान्वयनको सुधारका लागि ठेकेदारको प्राविधिक, मानवीय र वित्तीय क्षमता हेर्ने जनाएको छ। सडक निर्माण ठेक्कामा दिँदा ढल र बिजुलीको पोल व्यवस्थापन तथा बिजुलीको तार सार्ने वा भूमिगत गर्ने काम समेत समावेश गर्ने भएको छ। यसले विद्युतको पोल सार्न ढिलाइले आयोजना प्रभावित नहुने भएको छ।

६. सरकारले बजेटमार्फत् विद्यालयमा स्यानेटरी प्याड निशूल्क उपलब्ध गराउने घोषणा गरेको छ। अघिल्लो वर्ष दिवा खाजा वितरण गर्ने विषय बजेटमा नपरेपछि खतिवडाको आलोचना भएको थियो। यसवर्ष उनले दिवाखाजा कार्यक्रमको रकम बालबालिकाको आमालाई उपलब्ध गराउने घोषणा बजेटमा गरेका छन्।

७. सरकारले ऊर्जा क्षेत्रको बजेट घटाएको छ। ऊर्जा क्षेत्रमा यसवर्ष ४० करोड रुपैयाँ कम बजेट विनियोजन गरिएको हो। यस वर्ष सरकारले ऊर्जा क्षेत्रमा  ८३ अर्ब ४९ करोड रुपैयाँ दिएको छ। चालू वर्ष ८३ अर्ब ८९ करोड बजेट रहेको छ। सरकारले यसै वर्षभित्र माथिल्लो तामाकोसी आयोजना निर्माण सम्पन्न गर्ने जनाएको छ। त्यस्तै यसै वर्षभित्र एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने जनाएको छ। सरकारले यस वर्ष बूढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँ बजेट छुट्याएको छ।

८.  हवाई पूर्वाधारमा ३ अर्ब ५० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको छ। अघिल्लो वर्ष १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेकोमा यसवर्ष १५ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको हो। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेको छ भने निजगढ विमानस्थल सुरुवाती चरणमै प्रवेश गरेको छैन। जसको प्रभाव बजेटमा देखिएको छ।

९. वतर्मान सरकारले बारम्बार दोहोर्‍याउने गरेको रेल र पानी जहाजको विषय बजेटमा परेको छ। तर रेलका लागि छुट्याएको सबै बजेट विस्तृत परियोजना अध्ययनमा खर्च हुने देखिएको छ। रेल, मेट्रो र मोनोरेलका लागि ७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। तर यही बजेटबाट भारत र चीनबाट काठमाडौं जोड्ने रेलमार्गको विस्तृत परियोजना अध्ययन कार्यमा खर्च हुनेछ। सरकारले छुट्याएको बजेट पूर्व–पश्चिम, उत्तर–दक्षिण रेलमार्ग विकासमा समेत खर्च हुनेछ।

१०. बजेटको सबभन्दा ठूलो खर्च पूर्व–पश्चिम राजमार्गमा हुनेछ। पूर्व–पश्चिम राजमार्ग चार लेनको बनाउन १९ अर्ब १८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। त्यस्तै नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई फास्ट ट्र्याकमा १५ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याइएको छ। सरकारले बजेटमा सडकलाई अन्त्यन्त धेरै प्राथमिकता दिएको छ। पुष्पलाल मध्यपहाडी राजमार्गको ४ सय ३५ किलोमिटर पीच गर्न १२ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याइएको छ। हुलाकी राजमार्गको ३ सय ५० किलोमिटर लागि १३ अर्ब ६३ करोड रुपैयाँ छुट्याएको छ। बूढीगण्डकी आयोजनाका लागि १३ अर्ब ५७ करोड रुपैयाँ छुट्याइएको छ।

११. सरकारले महत्वकांक्षी सामाजिक सुरक्षा कार्यक्रमका लागि ६४ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ। सरकारले गत वर्ष नै धुमधामका लागि पोल पोलमा होर्डिङ बोर्ड राखेर घोषणा गरेको कार्यक्रम बजेटविहीन थियो। यसपटक सरकारले उक्त कार्यक्रमका लागि बजेट छुट्याएको हो।

१२. प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पनि यसवर्ष बजेटको व्यवस्था गरिएको छ। अघिल्लोपटक कार्यक्रममात्र समावेश गरिएकोमा यसवर्ष ५ अर्ब १ करोड रुपैयाँ बजेट छुट्याएको छ।

१३. बजेटमार्फत् सरकारले आयकर छुट हुने सीमा वृद्धि गरेको छ। यसअघि व्यक्तिको ३ लाख ५० हजारभन्दा बढी कमाउनेलाई आयकर लाग्दै आएको थियो। अब चार लाखसम्म कमाउनेले आयकर तिर्नुपर्ने छैन। दम्पत्तिका लागि  ४ लाख ५० हजार रुपैयाँको सीमा पुर्‍याएको छ।

१४. सरकारले बजेटमा काठमाडौंमा छिर्नुपूर्व गाडी पखाल्न समेत बजेट छुट्याएको छ। त्यस्तै प्रधानमन्त्रीको तुइन हटाउने कार्यका लागि पनि पर्‍याप्त बजेट छुट्याएको छ। तुइन विस्थापन गर्न ४ अर्ब ३८ करोड रुपैयाँ बजेट छ। पत्रपत्रिकाले पाउने लोक कल्याणकारी विज्ञापनको रकम १५ प्रतिशतले बढाइएको छ। मुलपानीमा क्रिकेट मैदानका लागि १० करोड बजेट छुट्याएको छ। त्यस्तै २० हजार फुसको घरको छानो विस्थापन गर्न ७३ करोड बजेट छुट्याएको छ।

१५. सरकारले पेट्रोल र डिजेलबाट प्रतिलिटर थप १ रुपैयाँ कर लिने भएको छ। सडक विस्तारका लागि रकम अपुग भएको भन्दै अर्थमन्त्री युवराज खतिवडाले बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। पेट्रोल र डिजेलबाट उठेको रकम सडक बोर्डमार्फत् सडकको स्तरोन्नतिका लागि खर्च गरिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्