देउतालाई बली चढाउने नाममा नाबालकको हत्या गर्ने पक्राउ

Arrest
लाेकपाटी न्यूज

जनकपुर, १६ जेठ । देउतालाई बली चढाउने नाममा जनकपुरमा अढाई बर्षीय नाबालकको हत्या भएको छ। अढाई वर्षीय बालक आर्यन भन्ने समिर कुमार शाहको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषाको मिथिला नगरपालिका–६ का शम्भु कमार शाहका अढाई वर्षीय छोरा आर्यनको गत वैशाख २४ गते अपहरणपछि हत्या भएको थियो । वैशाख २३ गते अपरान्ह ५ बजेको समयमा अपहरणमा परेका आर्यनको करिब एक महिनापछि हत्यामा संलग्न स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

आर्यनको २४ गते मध्यराती २ बजे धारिलो हतियारले रेटेर हत्या गरिएको थियो । महतोले प्रहरी समक्ष बालकको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको स्वीकार गरेका छन् ।

प्रहरीले जेठ १५ गते महतोलाई उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार महतोको साथबाट एक थान धारिलो हतियार, आर्यनको हत्या गर्दा लगाएको गञ्जी, गम्छा र धोतीसमेत बरामद भएको छ ।

महतो गाउँमा धामीझाँक्रीको काम गर्दै आएका थिए । देवी देवताको नाममा नर बलीको रुपमा आफ्नै घर आँगनमा क्रुरतापूर्वक बालकको हत्या गरी बली चढाएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक बालककी आमा रेणु देवी शाह घाँस काट्न गएको मौका छोपेर घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर आफ्नो घर लगेका थिए ।

महतोले बालकको हत्यापछि शव घर पछाडि कृष्णनन्दन महतोको खेतको झाडीमा फालेका थिए । पक्राउ परेका महतोलाई धनुषा जिल्ला अदालतमा पेश गरी पहिलो पटक ७ दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्