काठमाडौं, १६ जेठ। ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी भएको छ। ललितपुर महानगरपालिका–१८ भैंसेपाटीको नयाँ बजारमा किरणप्रसाद श्रेष्ठले सञ्चालन गरेको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहान साढे ३ बजेतिर आगो लागेको हो।
बिहीबार बिहान भएको आगलागी झण्डै ६ घण्टापछि नियन्त्रणमा आएको हो। बिहान तीन बजे सुरु भएको आगलागी ९ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ललितपुर तथा काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाका ४ दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी नारायणप्रसाद चिमोरियाले जानकारी दिए।
उनका अनुसार केमिकलमा सल्किएको आगो पानीले मात्र निभाउन नसकिने भएकाले समय लागेको हो। ‘केमिकलको आगो सामान्य किसिमको दमकलले निभाउन सकिन्न,’ डीएसपी चिमोरियाले भने, ‘त्यसका लागिकेमिकलयुक्त आगो निभाउने विशेष प्रकारको दमकल प्रयोग गर्नुपर्ने हुन्छ त्यही भएर अलि बढी समय लागेको हो।’
श्रेष्ठले टिनको टहरामा राखेको केमिकल गोदाममा अचानक आगो सल्किएको हो। आगलागीबाट गोदामा राखिएका पाउडर तथा तरल पदार्थ सबै जलेर नष्ट भएका छन्। तर के कति क्षति भयो भन्ने बारे अध्ययन भइरहेको डीएसपी चिमोरियाको भनाइ छ। ‘हामी अहिले डकुमेन्टेसन गर्दै छौं,’ उनले भने, ‘त्यसपपिछ सबै कुरा बाहिर आउला।’



लाेकपाटी न्यूज

