चितवन, १६ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बार भत्काएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’द्वारा विहीबार जारी एक विज्ञप्तिमार्फत गम्भिर ध्यानाकर्षण भएको जनाइएको हो। नेकपाले घटनाप्रति दुःख समेत व्यक्त गरेको छ।
यस्तै बार भत्काउने कार्यमा संलग्न स्थानीय नेता प्रकाश कंडेललाई पार्टीबाट निलम्बन गरिएको छ। पार्टीले बार भत्काउने घटनामा संलग्न भैरव बस्ताकोटीलाई दुई महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

घटनामा संलग्न सबैलाई कानूनी कारवाहीको माग गर्दै क्षतिपूर्ति भराउनसमेत माग गरिएको छ। नेकपाले धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नहुन आग्रह गर्दै हरदम साथ र सहयोगका लागि पार्टी तयार रहेको प्रतिवद्धता जनाएको छ।
बुधबार विहान नेकपाका स्थानीय नेता प्रकाश कंडेलको नेतृत्वमा पुगेको एक समूहले रंगशाला निर्माणस्थलमा लगाईएको जस्ताको बार डोजर लगाएर भत्काएका थिए। प्रहरीले घटनामा संलग्न कंडेलसहित १७ जनालाई पक्राउ गरेको छ।



लाेकपाटी न्यूज

