चितवन, १५ जेठ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको बार भत्काएकोप्रति स्थानीयवासी आक्रोशित भएका छन्।उनीहरुले बार भत्काउने कार्यमा संलग्न दोषीमाथि कारबाहीको माग समेत गरेका छन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको तारबार लगायतका संरचना केही व्यक्तिले भत्काइदिएका छन्। बुधबार विहान उनीहरुले डोजर लगाई जस्ताको बारलगायत केही संरचना पनि भत्काएको धुर्मुस सुन्तली फाउण्डेसनका कर्मचारीले बताएका छन्।
स्थानीय नेकपा नेता प्रकाश कंडेलको नेतृत्वमा आएको समूहले डोजर लगाएर तारबारसहितको संरचना भत्काएको थियो। भत्काउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरुसँग थप छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
स्थानीयले रंगशाला निर्माणका क्रममा सडक फराकिलो बनाउँदा आफनो जग्गा धेरै जाने भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।
शितलचोकबाट रामपुर निस्कने बाटो फराकिलो बनाउन रंगशालातर्फको जग्गा छाड्नुपर्ने उनिहरुको माग रहेको प्रहरीले जनाएको छ। बार भत्काउन प्रयोग भएको डोजर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले घट्ना दुःखद भएको बताएकी छिन्। उनले छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो तोडफोडमा उत्रिएको भन्दै दोषीलाई कारवाही गर्न प्रहरीलाई आग्रह गरेको बताइन्।



लाेकपाटी न्यूज

