ललितपुर । सत्तारुढ दल नेकपाकी प्रभावशाली नेत्री तथा सांसद पम्फा भुसालले संघीय गणतन्त्र ठूलो बलिदानीले प्राप्त भएको बताएकी छिन् ।
पूर्वमन्त्री समेत रहेकी नेत्री भुसालले शहिदको बलिदानी र जन आन्दोलनको उपलब्धीको रुपमा रहेको संघीय गणतन्त्रले नागरिकको सर्बोत्तम हित गर्ने धारणा राखेकी थिइन् ।
गणतन्त्र दिवस तथा वातावरण दिवसको अवसरमा ललितपुरमा बुधबार आयोजित वडा बृहत् सरसफाई एवम् जनचेतनामुलक कार्यक्रममाझ उनले सो कुरा राखेकी हुन् । त्यसैगरि घर राम्रो बनाउने तर घर बाहिर भने जथाभावी फोहर फाल्ने प्रवृत्ति विद्यमान रहेको औंल्याउँदै त्यस्तो बानी सबैले त्याग्नुपर्ने जिकिर समेत उनले गरिन् ।
त्यसैगरि ललितपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले आफ्नो घर मात्र सफा राख्दैमा स्वस्थ नभइने बताए। उनले घर मात्र नभएर आफ्नो टोल र छिमेक समेत सफा राख्न आग्रह गरे ।
कार्यक्रममा कुमारीपाटी क्लबका अध्यक्ष केशव खड्का तथा नेप्से म्याकका अध्यक्ष लक्ष्मी गेलालले मन्तव्य राख्दै वरपरको वातावरणीय स्वच्छताका लागि संस्थागत रुपमा साथ र सहयोग सदैव रहने बताए ।
यस अघि नेत्री भुसाल, ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर गीता सत्याल, वडा अध्यक्ष विकासमान श्रेष्ठ एवम् अन्य जन निर्वाचित प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, वडाबासी लगायतको उल्लेख्य सहभागिता माझ वडाको सरसफाई गरिएको थियो ।
ललितपुर ५ नम्बर वडाद्वारा आयोजित सो सरसफाई कार्यक्रम अन्तर्गत चार समूहको टोलीले वडास्थित विभिन्न क्षेत्रसम्म पुगी फोहर सङ्कलन गरेका थिए । महालक्ष्मी पार्टी प्यालेस, थसिखेलबाट शुरु भएको उक्त सरसफाई अभियान नगरको विभिन्न ठाउँ हुँदै क्रिस्टल पार्टी प्यालेस मानभवनमा गएर टुङ्गिएको थियो ।
यसैबीच वडास्थित टोल विकास संस्था, महिला समूह र क्लबहरुलाई दुई–दुई वटा चेतनामुलक बोर्ड, केही स्टिकर र थुन्से, साबेल, कुच्चो, फोहरदानी वितरण गरिएको थियो । आफ्नो तालुकको क्षेत्रमा हप्ताको एक दिन सरसफाई गर्ने परिपाटी बसाल्न सहज होस् भन्ने हेतुले वडाले सहयोग हस्तान्तरण गरेको वडा अध्यक्ष विकासमान श्रेष्ठले बताए ।



लाेकपाटी न्यूज

