काठमाडाैं मल घाेटाला प्रकरण : महरालाई सुरक्षा दिन संसदीय समितिको निर्देशन

susma-mahara01
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। प्रसिद्ध व्यापारिक केन्द्र काठमाडौं मलको भाडा घोटाला छानविन गर्न माग गर्दै आएकी द काठमाडौं मल व्यापार संघकी अध्यक्ष शुषमा महरालाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइएको छ । संसदको लेखा समितिले सञ्चय कोषको स्वामित्वमा रहेको उक्त मलको घोटालाका सम्बन्धमा उनीहरुले उजुरी गर्दा आक्रमण भएको भन्दै सुरक्षा प्रबन्ध गर्न निर्देशन दिएको हो ।

संसद सचिवालयले गृह मन्त्रालयलाई पत्र लेखेर अध्यक्ष महरा र उनको परिवारलाई सुरक्षा प्रबन्ध मिलाउन भनेको छ । जेठ ५ गते बसेको समितिको बैठकले अध्यक्ष महरा र परिवारलाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।

समितिले काठमाडौं मलका व्यापारीहरुलाई अन्याय भएको र विचौलियाले करोडौं हिनामिना गरेको भन्दै छानविनका लागि उजुरी परेको जनाएको छ । कर्मचारी सञ्चय कोषका कर्मचारी, द काठमाडौं मल व्यवसायी संघकै पूर्व पदाधिकारी र विचौलियाले मलको भाडा उठाएर घोटाला गरेको नयाँ कार्यसमिति चयन भएपछि खुलेको थियो ।

व्यवसायीबाट भाडा उठाएर बिचमै खानेदेखि कोषलाई भाडा समेत नबुझाएर अपचलन गरेको भन्दै लेखा समितिमा केही समयअघि उजुरी परेको थियो । उक्त उजुरीमाथि छानविन चलिरहेको समिति सचिवालयले जनाएको छ । उजुरीपछि मलमै अध्यक्ष महरा र उनको श्रीमान् कर्पोरेटका प्रधान सम्पादक उज्वलजंग शाहमाथि आक्रमण भएको थियो । शाह करिब हप्ता दिन नर्भिक अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका थिए ।

सुषमा महराले घोटलाको विषय उठाएपछि विचौलियाले केही मिडियामार्फत महराको विषयमा भ्रम फैलाई अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको र घोटलाको विषय उठाएकोमा आफू माथि आक्रमण भएको महराले बताउदै आएकी छिन् । यता प्रहरीले महराको जाहेरी समेत लिन नमानेपछि घटना थप रहस्यमय बनेको छ ।

महरा हस्पिटल भर्ना

यसैबीच अध्यक्ष महरालाई शहिद गंगालाल हृदयरोग उपचार केन्द्र भर्ना गरिएको छ । एक्कासी छाति र मुटुमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल पुर्‍याइएको हो ।

पारिवारिक श्रोतका अनुसार मलमा भएको घोटालाका सम्बन्धमा आवाज उठाउँदै आएकी महरालाई छानविनबाट पछि हट्न विभिन्न समूहले निरन्तर दबाब दिँदै आएको र बैशाख ३ गतेको आक्रमणपछि उनको स्वास्थ अवस्था खस्केको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्