काठमाडौं, १५ जेठ। प्रसिद्ध व्यापारिक केन्द्र काठमाडौं मलको भाडा घोटाला छानविन गर्न माग गर्दै आएकी ‘द काठमाडौं मल व्यापार संघ’की अध्यक्ष शुष्मा महरालाई सुरक्षा प्रवन्ध गर्न सरकारलाई निर्देशन दिइएको छ। संसदको लेखा समितिले सञ्चय कोषको स्वामित्वमा रहेको उक्त मलको घोटलाका सम्बन्धमा उनीहरुले उजुरी गर्दा आक्रमण भएको भन्दै सुरक्षा प्रवन्ध गर्न निर्देशन दिएको हो।
संसद सचिवालयले गृह मन्त्रालयलाई पत्र लेखेर अध्यक्ष महरा र उनको परिवारलाई सुरक्षा प्रवन्ध मिलाउन भनेको छ। जेठ ५ गते बसेको समितिको बैठकले अध्यक्ष महरा र परिवारलाई सुरक्षा प्रबन्ध गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो।
समितिले काठमाडौं मलका व्यापारीहरुलाई अन्याय भएको र विचौलियाले करोडौं हिनामिना गरेको भन्दै छानविनका लागि उजुरी परेको जनाएको छ। कर्मचारी सञ्चय कोषका कर्मचारी, द काठमाडौं मल व्यवसायी संघकै पूर्व पदाधिकारी र विचौलियाले मलको भाडा उठाएर घोटाला गरेको नयाँ कार्यसमिति चयन भएपछि खुलेको थियो।
व्यवसायीबाट उठाएर विचमै खानेदेखि कोषलाई भाडा समेत नबुझाएर अपचलन गरेको भन्दै लेखा समितिमा केही समयअघि उजुरी परेको थियो। उक्त उजुरीमाथि छानविन चलिरहेको समिति सचिवालयले जनाएको छ। उजुरीपछि मलमै अध्यक्ष महरा र उनको श्रीमान् कर्पोरेटका प्रधान सम्पादक उज्वलजंग शाहमाथि आक्रमण भएको थियो। शाह करिब हप्ता दिन नर्भिक अस्पतालमा उपचार गराएपछि डिस्चार्ज भएका थिए।
सुष्मा महराले घोटलाको विषय उठाएपछि विचौलियाले केहि मिडियामार्फत महराको विषयमा भ्रम फैलाई अनुसन्धानलाई प्रभावित पार्न खोजिरहेको र घोटलाको विषय उठाएकोमा आफू माथि आक्रमण भएको महराले बताउदै आएकी छिन। यता प्रहरीले महराको जाहेरीसमेत लिन नमानेपछि घटना थप रहस्यमय बनेको छ।
यसबीच अध्यक्ष महरालाई शहिद गंगालाल हृदयरोग उपचार केन्द्र भर्ना गरिएको छ । एक्कासी छाति र मुटुमा समस्या देखिएपछि मंगलबार उनलाई अस्पताल पुर्याइएको हो।
पारिवारिक श्रोतका अनुसार मलमा भएको घोटालाका सम्बन्धमा आवाज उठाउदै आएकी महरालाई छानविनबाट पछि हट्न विभिन्न समूहले निरन्तर दबाव दिदैं आएको र बैशाख ३ गतेको आक्रमणपछि उनको स्वास्थ अवस्था खस्केको बताइएको छ।



लाेकपाटी न्यूज

