काठमाडौं, १५ जेठ । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्।
सभापति देउवाले प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको बताए। त्यसको रक्षाका लागि तयारी अवस्था रहन पार्टीका नेता, कार्यकर्तालाई उनले आह्वानसमेत गरेका छन्।
‘जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्र नै हुँदैन,’ उनले भने, ‘प्रेस स्वतन्त्रता र मानवअधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ।’
गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले लोकतन्त्रको लागि लडेको कांग्रेसले नै यसको रक्षा गर्नुपर्ने बताए। सभापति देउवाले लोकतन्त्रका लागि फेरि संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको स्मरण गर्दै ठूलो त्याग र तपस्याबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढन् पर्नेमा जोड दिए।



लाेकपाटी न्यूज

