प्रचण्डको शुभकामना : ‘समाजवादको नयाँ मोडलमा दृढतापूर्वक अगाडि बढौं’

prachanda -11
लाेकपाटी न्यूज

काठमाडौं, १५ जेठ। नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले २१ औं शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न अपिल गरेका छन्। १२ औं गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले इतिहासले सुम्पिएको दायित्व पूरा गर्ने र जिम्मेवारी बहन गर्ने काम अवसर र चुनौति दुवै भएको पनि बताए।

गणतन्त्र प्राप्ती ऐतिहासिक भएको भन्दै यसले नेपाल र नेपालीको लागि गौरव र कम्युनिष्टहरुका लागि प्रेरणाको विषय भएको भन्दै प्रचण्डले संविधानमा व्यवस्था गरिएको मौलिक हकसम्बन्धि व्यवस्था, सङ्घीय शासन प्रणाली, समावेशी–समानुपातिक प्रणाली, सामाजिक न्यायजस्ता प्रावधानले समाजवादको तयारीमा लाग्न मार्गप्रशस्त्र गरेको प्रष्ट पारे।

निरंकुश र एकात्मक व्यवस्थाको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दिन सुखद दिन भएको प्रचण्डको भनाई छ। उनले यो उपलब्धी प्राप्तीका लागि लडने सबैमा शुभकामना व्यक्त गर्दै गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नाो जीवन उत्सर्ग भएका महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली, सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान र घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ। सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिको आन्दोलनमा आफ्नाो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु। सम्पूर्ण घाइते योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दै गणतन्त्रको आन्दोलनमा आ–आफ्नो ठाउँबाट सहयोग र सद्भाव व्यक्त गर्नुहुने सम्पूर्ण नेपालीमा हार्दिक आभार व्यक्त गर्दछु’ विज्ञप्तीमा भनिएको छ।

यसै अवसरमा उनले अवसरमा २१ औं शताब्दीमा विश्व मानव जातिलाई समाजवादको नयाँ मोडल दिने अभियानमा दृढतापूर्वक अगाडि बढ्न सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र प्रगतिशील शक्तिलाई अपीलसमेत गरेका छन्।press