काठमाडौं, १५ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताएकी छिन्।
बाह्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वाससमेत व्यक्त गरेकी छिन्। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटोमा रहेको पनि उनले बताएकी छिन्।
राष्ट्रपति भण्डारीको शुभकामना !
बाह्रौं गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरुप्रति श्रद्धासुमन ब्यक्त गर्दै स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभार्यहरुमा हार्दिक मंगलमय शुभकामनना ब्यक्त गर्दछु।
निर्वाचित जनप्रतिनिधिमुलक संस्थाहरु गणतान्त्रिक मुल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संबिधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिवद्ध छन्। बिश्व्मा लोकप्रिय तथा समृद्ध पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभई जीवनपद्धतीका रुपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ। यो सवैको निम्ति गौरवको विषय हो।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था अवलम्बन भएपश्चता देशमा सुशासन, द्रुततर आर्थिक–सामाजिक बिकाशसहित समृद्धि हासिल हुन्छ भन्ने आम नेपालीको अपेक्षा साकार पार्नु हामी सवैको सामुहिक उत्तरदायित्व हो। सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संबैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बनेको परिवेशमा समृद्धि हासिल गर्ने अभिाराले मुतरुप लिनेछ भन्नेमा म विश्वस्त छु। यस प्रसंगमा मुलुकको समग्र विकास र समृद्धिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सवै नेपाली दाजुभाइ दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्दछु।
यस ऐतिहासिक दिवसले सवै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र उर्जा मिलोस् भन्ने शुभेच्छासहित गणतन्त्र दिवस २०७६ का अवसरमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु।
धन्यवाद !



लाेकपाटी न्यूज

