काठमाडौं, १४ जेठ। महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका विभिन्न स्थानमा चोरी भएका मोटरसाइकलसहित चोरी कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा रामेछाप सुनापाती गाउँपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुंगा चम्पादेवी गाउँपालिका ५ फेदीगुठ घर भई हाल काठमाडौं बौद्ध जारपाटी बस्ने १९ वर्षीय प्रविन बरुवाल, ओखलढुंगा सुनकोशी गाउँपालिका ३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेम बहादुर कटवाल, खोटाङ, खोटेहाङ गाउँपालिका ९ घर भई हाल त्रियुगा नगरपालिका ३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(१ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुंगा सुनकोशी गाउँपालिका २ कोटबेशी बस्ने २२ वर्षीय भिजन कार्की रहेका छन्।
उनीहरुको साथबाट प्रदेश ३-००२-००४ प ६४७१, प्रदेश ३-०२-००१ प ७४७९, ग १५ प १८९८, बा।९८ प ५५१३, बा ८० प ४५४१ र बा ९५ प ९३८६ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। मोटरसाइकल चोरी, बिक्री वितरण तथा चोरीका मोटरसाइकलहरुको नम्बर परिवर्तन गरी प्रयोग गर्ने उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, उदयपुर, सिन्धुपाल्चोक, महानगरीय प्रहरी वृत्त वौद्ध काठमाडौं तथा महानगरीय अपराध शाखा भक्तपुरसंगको समन्वय तथा सहयोगमा बैशाख २४ गते देखि जेठ १० गते सम्म पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यस्तै, रौतहटको ईशनाथ नगरपालिका ४ ठुलो लत्मरीबाट कटुवा पेस्तोल १ थान सहित रौतहट परोहा नगरपालिका-९ बसनपट्टी बस्ने अन्दाजी ४५ वर्षीय छोटेलाल साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। सिमा प्रहरी चौकी बंजराबाट खटिएको प्रहरीले साहलाई जाँच गर्ने क्रममा उक्त पेस्तोल, ल्यापटप १ थान, पेन्ड्राईभ २ थान, नेपाली नगद ५ हजार २ सय ५० रुपैयाँ, भारतीय नगद ४ हजार १ सय रुपैयाँ, मोबाइल १ थान, चक्कु १ थान, पेचकस १ थान लगायतका सामान सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । उता, भोजपुरमा आफ्नै २२ महिनाको छोरा सम्बोधन थापालाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामप्रसाद राई गाउँपालिका ८ बासिखोरा घर भई भोजपुर नगरपालिका ९ पानीट्याङ्की डेरा गरी बस्ने अन्दाजी २६ वर्षीया सम्झना थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सम्झना थापाले खुकुरी प्रहार गरी छोराको हत्या गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस्तै सल्यान र कास्कीमा हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सल्यान छत्रेश्वरी गाउँपालिका ६ रानागाउ बस्ने २८ वर्षीया सपना भण्डारीलाई आफ्नै ७ महिनाको छोरीको हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उनले आफ्नै छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट लान्तीबाट खटिएको प्रहरीले सपनालाई पक्राउ गरेको हो। उता कास्की माछापुच्छ्रे गाउँपालिका ७ ओखरबोट धम्पुसमा बस्ने ६५ वर्षीय सन्ते बिकलाई हत्या गरेको अभियोगमा मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उनले सोही स्थान बस्ने ५२ वर्षीय गोरे बिक भन्ने मानकाजी बिकलाई ढुङगा प्रहार गरी हत्या गरेको हो ।वडा प्रहरी कार्यालय बगर र अस्थायी प्रहरी पोष्ट भेडावारीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

