काठमाडौं, १४ जेठ। आज काठमाडौं उपत्यकासहित मुलुकको पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार अपराह्न या साँझपख पूर्वदेखि पश्चिमसम्मै पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना देखिएको मौसविद्ले बताएका छन्। पूर्वमा भने तराई–पहाड दुवै क्षेत्रमा वर्षा हुने सम्भावना रहेको उनले जानकारी दिए।
उनका अनुसार अहिले पूर्वी क्षेत्र पूरै र मध्य तथा पश्चिमी क्षेत्रका पहाडी भेगमा मौसम बदली भएको छ। ‘सिरहादेखि पूर्व पहाड–तराई दुवै भेगमा अहिले मौसम बदली भएको छ,’ मौसविद् रिमालले भने, ‘संखुवासभा र सोलुखुम्बुतिर त अहिले पनि फाट्फुट्ट वर्षा भइरहेको होला।’
साँझपख भने पूर्वी क्षेत्रसहित मध्य तथा पश्चिमका पहाडी भेगमा मौसम बदली भई वर्षा हुने सम्भावना रहेको उनले बताए। ‘खासगरी आज पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना प्रवल छ,’ उनले भने, ‘तर साँझपख काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका पनि पहाडी क्षेत्रमा पानी पर्ने देखिएको छ।’
उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ। अहिले पश्चिम तराई क्षेत्रमा भने गर्मी बढेको मौसमिवद्को भनाइ छ। त्यस भेगमा मौसम बदली नभएकाले अझ गर्मी बढ्दै जाने मौसमविद्को अनुमान छ।



लाेकपाटी न्यूज

