छाेरालाई बाेर्डिङ पढाएपछि शिक्षिका निश्कासित

school-maa-paddai pic
लाेकपाटी न्यूज

काठमाडौं, १४ जेठ। छोरालाई निजी विद्यालयमा पढाएको भन्दै माण्डवी गाउँपालिकाले सामुदायिक विद्यालयकी एक शिक्षिकालाई निष्कासन गरेको छ।

माण्डवी ५ वागीश्वरी माविमा कार्यरत निजी स्रोतकी शिक्षिका गीता भट्टराईलाई गाउँपालिकाले निष्कासन गरेको हो।कक्षा चारमा पढ्ने आफ्ना छोरालाई उनले स्थानीय एक निजी विद्यालयमा पढाउँदै आएकी छिन्। गाउँपालिकाले सरकारी सेवा–सुविधा लिने सबैका बालबालिका अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ। निर्णयपछि गाउँपालिका अध्यक्ष, प्रधानाध्यापकलगायतले आफ्ना बालबालिका निजीबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेका छन्।

भट्टराईले भने सामुदायिक विद्यालयमा छोरा भर्ना नगरेकाले निष्कासन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपाराम आचार्यले जानकारी दिए। ‘सरकारले सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक सबैका छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ,’ गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले भने, ‘सरकारको निर्णयलाई हामीले पनि कार्यान्वयन गरेका हौँ।’

११ कात्तिक ०७४ देखि विद्यालयमा पढाउँदै आएकी भट्टराईले भने गाउँपालिकाले पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाएकी छिन्। प्रधानाध्यापकसहित विद्यालयका अन्य शिक्षकले पनि आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउँदै आएको उनको आरोप छ। ‘अरू शिक्षकले पनि छोराछोरी बोर्डिङ स्कुलमै पढाउँदै आउनु भएको छ,’ भट्टराईले भनिन्, ‘तर गाउँपालिकाले मलाई मात्रै निष्कासन गर्नु अन्यायपूर्ण कार्य हो।’

गाउँपालिका अध्यक्ष रोकाले भने आफूले पनि छोराछोरी सरकारी विद्यालयमा भर्ना गरेको दाबी गरे। छोरालाई निजीबाट सामुदायिक विद्यालयमा ल्याउन खोज्दा नमानेको भट्टराईको भनाइ छ। उनी १ जेठदेखि विद्यालय जान छाडेकी छिन्। उनको ठाउँमा गाउँपालिकाले नयाँ शिक्षक भर्ना गरिसकेको छ।

आफू अन्यायमा परेको भन्दै भट्टराईले न्यायका लागि शिक्षक महासंघ जिल्ला समिति प्युठानमा निवेदन दिएकी थिइन्। महांघका अध्यक्ष शेरबहादुर थापाले मनलाग्दी ढंगले गाउँपालिकाले शिक्षक निष्कासन गर्न नसक्ने दाबी गरे। तर, गाउँपालिकाका अध्यक्ष रोकाले भने विद्यालय र समुदायको हितका निम्ति यस्तो निर्णय गरिएको बताए। ‘आफू सामुदायिक विद्यालयमा पढाउने अनि छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने सबै शिक्षकलाई हामी अवकाश दिनेछौँ,’ अध्यक्ष रोकाले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्