सडक पेटीमा बनाईएका चुलो हटाउन तीन दिने अल्टिमेटम

BHARATPUR
लाेकपाटी न्यूज

चितवन, १४ जेठ। भरतपुर अस्पताल अगाडी नेपाल प्रहरीको कल्याणकारी कोषद्धारा संञ्चालित सटर भाडामा लिएर व्यवसाय गर्नेहरुले पेटीमा बनाएका चुलो र राखिएका सामाग्री तीन दिन भित्र हटाउन निर्देशन दिइएको छ।

गणतन्त्र दिवसको अवसरमा भरतपुर क्षेत्रमा सरसफाईका क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको रोहबरमा वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले ती सामाग्री तत्काल हटाउन निर्देशन दिएका हुन्।होटलहरुले पेटीमा चुलो र पसलहरुले सामाग्री राखेपछि यात्रुलाई हिड्न कठिन भएको छ। भण्डारीले तीन दिन भित्र ती समाग्री नहटाए महानगरले जफत गर्ने चेतावनी दिए।

उनले कडाईका साथ निर्देशन दिदैं तोकीएको समयमा नहटाए नगर प्रहरीले भत्काएर लैजाने बताए। भण्डारीले यसअघि पनि पेटीमा चुलो निर्माण नगर्न निर्देशन दिएपनि प्रहरीको आडमा अटेर गरेपछि महानगर प्रमुखकै रोहबरमा उनले निर्देशन दिएका हुन्। सो क्रममा उनले बाहिर फोहोर नगर्न आग्रह समेत गरेका थिए।

गणतन्त्र दिवस २०७६ का अवसरमा बुधबार विहान भरतपुरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला समन्वय समिति, मालपोत कार्यालय, भरतपुर अस्पताल, नेपाल प्रहरी लगाएतका स्वामित्वमा रहेका जमिन अगाडी रहेका सडक छेउछाउ सरसफाई गरिएको हो।

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सरकारी कार्यालयका प्रमुखहरु, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, शशस्त्र प्रहरी लगाएतको सहभागितामा सरसफाई गरिएको हो।

सरसफाई पछि प्रमुख जिल्ला अधिकारी बस्नेतले सबैलाई धन्यवाद दिदै गणतन्त्र दिवसका अवसरमा गरिने कार्यक्रममा सक्रिय सहभागिताका लागि अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्