काठमाडौं, १४ जेठ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट लगायत आठ देशको सहभागिता रहने भएको छ।
मे ३० मा प्रधानमन्त्री मोदीले भारतीय प्रधानमन्त्रीको रुपमा दोश्रो कार्यकालका लागि सपथ लिँदैछन्। बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन्। यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ।
जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन्। यी सबै देशबाट सपथ समारोहमा प्रतिनिधित्व हुने जनाइएको छ। त्यसबाहेक किर्गिस्तान र मौरेससबाट समेत प्रतिनिधित्व हुने जनाइएको छ। यसअघि सन् २०१४ मा भएको सपथ समारोहमा सार्क मुलुकका राष्ट्र प्रमुखहरुलाई निमन्त्रणा गरिएको थियो।
त्यसबेला पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफ पनि सपथ समारोहमा सहभागी भएका थिए। तर यो पटक भने भारतले पाकिस्तानलाई निमन्त्रणा दिएको छैन्। पाकिस्तान सार्क सदस्य राष्ट भएपनि बिमस्टेकमा भने उसको प्रतिनिधित्व छैन। यसअघि साकै मुलुकका प्रमुखहरुलाई निमन्त्रणा दिने परम्परालाई भारतले यसपटक तोडेको छ।
भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण १८ औं शिखर सम्मेलन सम्पन्न भएयता सार्क शिखर सम्मेलन हुन सकेको छैन। यसअघि १९ औं शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा गर्ने तयारी गरिए पनि भारतले अस्वीकार गरेपछि स्थगित भएको थियो। लोकसभा निर्वाचनमा भारतीय जनता पार्टीले भारी मतले जित हासिल गरेलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका थिए।
प्रधानमन्त्री खानले वधाई दिएपछि २ देशबीचको सम्बन्धमा थप सुधारका संकेत देखिएको थियो। तर भारतले बिमस्टेक सदस्य राष्ट्रहरुलाई निम्ता दिने नाममा सार्क संगठनको अस्तित्वलाई नै ओझेलमा पार्ने किसिमले तयारी गरेपछि यो पटकको सपथ समारोहमा पाकिस्तान छुटेको छ।
पछिल्ला वर्ष दुई देशबीच देखिएको तनावका कारण भारतले पाकिस्तानलाई महत्व नदिएको विश्लेषण गर्ने गरिएता पनि दक्षिण एसियामा सार्क संगठन र यसको महत्वलाई फिक्का बनाउने रणनीति लोकसभा निर्वाचनका क्रममा भारतीय जनता पार्टीले जारी गरेको घोषणापत्रमै देखिएको थियो। सो घोषणापत्रमा बिमस्टेकलाई बढी महत्व दिइएको छ भने सार्क संगठनको नामै लिइएको छैन।
त्यसैले त्यसको असर प्रधानमन्त्रीको सपथ समारोहमा समेत देखिएको छ। भारतको यो कदमले पाकिस्तानी प्रधानमन्त्री खानले सुरुमै देखाएको कुटनीतिक मर्यादालाई समेत लत्याएको विश्लेषण गर्न थालिएको छ । लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३५२ सिट प्राप्त गरेको छ भने भाजपाले मात्र ३०३ सिट प्राप्त गरेको छ। विजयी भएलगत्तै शनिबार मोदी संसदीय दलको नेता चयन भएका थिए। एजेन्सी



लाेकपाटी न्यूज

