काठमाडौं। सुगतरत्न कंशकारले नेपाल टेलिकममा ३४ बर्ष महाप्रबन्धकको रुपमा काम गरे पश्चात् नेपाल वायु सेवा निगममा आएका हुन्। अहिले उनलाई वाईडबडी खरिद प्रकियाका विषयमा अनियमितता भयो भनेर आरोप लागेको छ।
अनियमितताबारे छानविन चलिरहेकै कारण हिजोआज उनी मौन बसेका छन्। तर, उनले यो बिचमा आफ्ना केही निकटका मित्रहरुलाई बोलाएर आफ्नो दुखेसो पोखेका छन्। बेला–बेला भक्कानिएका उनले आफूले जती राम्रो काम गर्दा पनि केही शक्तिले पेलेरै गएको र दुःख दिएको बताएका छन्।
नेपाल वायु सेवा निगममा पहिलो पल्ट प्रवेश गरेको शुरुका दिनहरु सम्झिँदै उनले आफूले त्यतिखेर निगमका पदाधिकारीहरुसँग संवाद, छलफल, अन्तक्र्रियाहरु प्रचुर मात्रमा गरेर, त्यसको अध्ययन विश्लेषण गरेर काम अगाडि बढाएको बताएका छन्।
निगमलाई संरचनात्मक परिवर्तन गरी व्यवस्थापकीय सुधार गर्ने सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझाव दिन समितिहरु मिर्माण गरेको र त्यही समितीका प्रतिवेदन अनुसार आफूले काम गरेको बताउँदै कंशकारले भनेका छन्– “ती सबै प्रतिवेदनहरुले प्रत्येक्ष र अप्रत्यक्ष रुपमा व्यवस्थापन सुधार नगरिकन अथवा संरचनात्मक परिवर्तन नगरिकन सेवा विस्तार गर्नु उचित नहुने राय दिएको भएता पनि मैले विमान खरिद गरी सेवा विस्तार गर्ने कार्य र व्यवस्थापन सुधार कार्य सँगसँगै जानु उचित हुने धारणा मैले अघि सारेँ। निगमको लागि यो एक प्रकारको आधारभुत रणनीतिक परिवर्तन थियो। यही रणनीति बमोजिम मैले निगममा पाइला टेकेको ५ महिनामा नै पर्यटन मन्त्रालय, संचालक समिति र निगम कर्मचारीहरुको सहमति र सहयोगमा ६ वटा विमान खरिद गर्न मिति २०६५–१२–२५ मा टेण्डर आह्वान गर्न सफल भएँको हुँ।’
विमान खरिद गर्न अनिवार्य रुपमा लिनै पर्ने ऋण बापत नेपाल सरकारले जमानत दिन सक्ने अधिकार नेपाल सरकारलाई प्रदान गर्न ऋण तथा जमानत ऐन, २०२५ लाई नै संशोधन गराउन पहल गरियो र उक्त अति महत्वपूर्ण कार्य पनि मिति २०६६–८–१० मा संशोधन भए पछि सफल भएको र यसरी विमान खरिद गर्दै जान आर्थिक श्रोतको व्यवस्था गर्न निगमलाई एक ठूलो उपलब्धी हासिल भएको उनको भनाइ छ।
नेपाल भ्रमण वर्ष २०११ अगावै जसरि भए पनि कम्तिमा पनि एउटा नयाँ टल्केको विमान काठमाडौंमा अवतरण गराउने महान लक्ष्य लिएर युद्ध स्तरमा खरिद प्रकृया अघि बढाएको बताउँदै कंशकारले निगमलाई कुनै हालतमा उँभो लाग्न नदिने केही तत्वले अनर्गल प्रचार–प्रसार गरी विमान खरिद प्रकृयामा अवरोध खडा गरिदियो र मुद्दा मामिलामा अल्झाएर दुई वटा न्यारोबडी ए ३२० विमान प्राप्त गर्न झण्डै ६ वर्षले ढिलाई हुन गएको बताएका छन्। त्यसबेला ६ वटा विमान योजना बमोजिम ल्याउन दिएको भए आजको दिनमा निगमसँग कम्तिमा १० वटा जेट विमान हुने उनको अनुमान छ। ती विमानहरु जापान र युरोप सन् २०१३ को शुरुमा नै उडान भैसकेको उनले बताए।
आइकाओ र इयूले नेपाललाई ब्लाय्क लिस्टमा राखेको सन् २०१३ को अन्त तिर मात्र हो र सेवा सञ्चालन भइसकेको अवस्थामा संचालनमा रहेको गन्तव्यलाई बन्द गर्दैन। कंशकारले केही पुराना कुरा सम्झिँदै भने–“ ती ६ वटा विमानको खरिद प्रकृया ऐन कानून नियम विनियम बमोजिम नै गरिएको ठहर गरी सम्मानित सर्बोच्च अदालतले मिति २०६९–१–१२ मा फैसला गर्यो र उक्त ३८ पानाको पूर्णपाठको एक अंशमा उल्लेख गरेको छ कि “व्यवस्थापनको प्रतिभा, क्षमता र नेतृत्वदायी भूमिकाको जिम्मामा धेरै ठूलाठूला आयोजना जिम्मा लगाउने हुनाले उनीहरु पनि राष्ट्र र समाजका पूँजी हुन भन्ने सकारात्मक दृष्टिकोणले उनीहरुको सम्बन्धमा जिम्मेवारीका साथ र विधिसंगत निर्णय लिने सोच सबैमा हुन जरुरी छ।”
अन्दाजी ५० लाख नेपाली नागरिकहरु मुलुक बाहिर भएको कारण र विदेशी पर्यटक संख्या उल्लेखनीय रुपमा वृद्धि गर्न नेपाल आउन लाग्ने चर्को हवाई भाडालाई निगमले हस्तक्षेपकारी भूमिका खेल्नैपर्छ भन्ने मान्यतामा शुरुवातको रुपमा दुईवटा वाइडबडी विमान खरिद गर्ने प्रकृया प्रारम्भ गरेको कंशकारको भनाई छ। प्रचलित ऐन कानून र निगमको आर्थिक विनियमावलीलाई अनुशरण गरि अत्यन्तै पार्दर्शी ढंगले सम्पुर्ण खरिद प्रकृया अघि बढाइएको थियो।
निगमको कार्यकारी प्रमुखको हैसियतले आफ्नो जिम्मेवारी निर्वाह गर्नमा निगम कर्मचारीहरुबाट हात नबढाएको भए र उदारतापूर्वक सहयोग प्रदर्शित नगरेको भए पक्का पनि वाइडबडी खरिद सम्भव हुदैनथ्यो भन्ने उनको जिकिर छ।
वाइडबडी खरिद प्रकृया शुरु हुनासाथ व्यवस्थापकीय सुधार कार्यहरु पनि प्रारम्भ गरियो। हरेक सुधारको पक्षमा पनि निगम कर्मचारी परिवारबाट ठूलो सहयोग मैले पाएँ। जस्को फलस्वरुप ग्राउन्ड हैंडलिंगमा सुधार मात्र होइन अन्तर्राष्ट्रिय गुण स्तर चिन्ह आइसागो सर्टिफिकेट प्राप्त भयो। त्यसैगरि अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्सको रुपमा परिचित गराउन अन्तर्राष्ट्रिय संस्था क्ष्ब्त्ब् को सदस्य बन्न गृहकार्य प्रारम्भ गरियो। निगमभित्र व्यापक रुपमा कम्प्यूटराइजेशन गर्नेतर्फ पाइला चालियो। अनलाइन बूकिंग संचालनमा ल्याइयो।
इन्जिनियरिङ् र अप्रेशन तर्फ अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर प्रणाली खरिद गरि संचालनमा ल्याइयो। निगमलाई अन्तर्राष्ट्रिय स्तरको एयरलाइन्समा रुपान्तर गर्न निगमको सबै कृयाकलापहरुलाई समेट्ने गरि बृहत रुपमा कम्प्युटराइजेशनमा जानै पर्छ भन्ने मान्यतामा जतिसुकै कठिन भए पनि इन्टप्र्राइज रिसोर्स प्लानिंग (इ.आर.पी) प्रणाली भित्र्याउन गृहकार्य शुरु गरियो।
आउने दिनहरुमा आन्तरिक सेवातर्फ पनि उपयुक्त विमानहरु थप्दै सबै ट्रंक रुटहरु र स–साना चालु स्टोल विमानस्थलहरु लगायत नागरिक उड्डयन प्राधिकरणले उडान योग्य अवस्थामा पुर्याउने थप विमानस्थलहरुमा समेत नियमित उडानहरु राख्ने जमर्को गरेर राष्ट्र निर्माणमा टेवा पुर्याउने योजनामा आफू लागेको उनले बताए।



लाेकपाटी न्यूज
