एसपी रेवती ढकालको फितलो सूरक्षा व्यवस्था : गम्भिर घटनामा नै बेवास्ता गरेको पीडितको गुनासो

rewati dhakal, ssp
लाेकपाटी न्यूज

काठमाडौं, १३ जेठ । पर्साको वीरगञ्जमा केही समय अघिदेखि महिला हिंसा, हस्पिटल तोडफोड, जबरजस्ती करणी, सीमा नाकाबाट विभिन्न सामग्रीको तस्करी लगायतका घटनाहरु घट्दै आएका छन्। त्यस्ता गैरकानूनी घटना घटिरहेको अवस्थामा घटना न्युनीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साले खासै चासो देखाएको छैन।

गैरकानूनी गतिविधिमा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याएर पीडितलाई शान्ति, सुरक्षा तथा अमनचयनको महसुस गराउन खटिनुपर्ने प्रहरीले नै त्यस्ता घटनाप्रति चासो नदेखाएपछि पीडितहरु अन्यायमा परेका छन्। घटनाको बारेमा सम्पूर्ण जगजाहेरी भइसक्दा पनि प्रहरीले अपराधीलाई कारवाही नगरी मुकदर्शक भई बसेको भन्ने आरोप पीडितहरुको छ।

प्रहरी प्रशासनकै अगाडि पिडकहरु डुलिराखेको देख्दा आफूहरु त्रासमा बाँच्न बाध्य भएको पीडितहरुको गुनासो छ। पछिल्लो समय पर्सामा घटेका विभिन्न २ घटनामा पनि जिल्ला प्रहरी कार्यालय पर्साले चासो देखाएको छैन। यसो हुनुमा पर्साका प्रमूख प्रहरी उपरिक्षक रेवती ढकालको फितलो प्रशासनिक क्षमता, संवेदनशील घटनाहरुप्रतिको बेवास्ता र व्यक्तिगत आर्थिक लाभका लागि तस्करहरुसँग मिलेमतो गरी सीमाक्षेत्रका गैरकानूनी गतिविधिमा निगरानी गर्न छाडेको स्थानीयको आरोप छ ।

घटना १ : लालचनी र मुन्नीको घटनामा प्रहरीको बेवास्ता
पर्सा जिल्लाका लालचनी र मुन्नी यतिखेर न्याय पाउने पर्खाइमा छन् । घटना केही दिन अघिको हो । पर्साको बहुदरमाई नगरपालिका–३ का ४७ वर्षीय चन्द्रिका यादवले पुख्र्यौली सम्पत्तिबाट अंश नपाएको भन्दै गत माघ दोस्रो साता जिल्ला अदालतमा काका कुँवर यादवविरुद्ध अंश मुद्दा दर्ता गराए ।

मुद्दा दर्ता गरेको थाहा पाएपछि कुँवरका छोरा श्रीकिसुन यादव र नाति रामअयोध्या र रामायण यादवले गत फागुन २८ मा चन्द्रिकाको घरमै पुगेर कुटपिट गरेका थिए । एक्लो चन्द्रिकालाई ४÷५ जनाले कुटपिट गरिरहेको देखेर उनकी छोरी लालचनी यादव बचाउन पुगिन् । २२ वर्षीय गर्भवती लालचनी कुटपिटबाट घाइते भएपछि उपचारका लागि उनलाई वीरगन्जको नारायणी अस्पताल पुर्याइयो ।

आफूहरुमाथि अन्याय भएको भन्दै चन्द्रिकाले जिल्ला प्रहरी कार्यालयमा पिडकलाई कारवाही गर्न माग गरेकोमा उल्टै प्रहरीले उनलाई नै दुई दिन थुनामा राखेको लालचनी बताउँछिन्। उनले प्रहरीबाट कुनै पनि किसिमको न्याय नपाएको र पिडक प्रहरीकै अगाडि खुलेआम डुल्दा पनि प्रहरीले कारवाहीको लागि कुनै पहल नगरेकोले आफूहरु झन् त्रसित हुनुपरेको गुनासो पोखेकी छन्।

कुटपिटबाट घाइते भएकी गर्भवती लालचनी अस्पताल भर्ना भएको ४ दिनपछि घर फर्किन् । अत्यधिक रक्तश्राव र तल्लो पेट दुखेपछि चैत ११ मा लालचनी फेरि नारायणी अस्पताल भर्ना भइन् । चिकित्सकले उनलाई नेसनल मेडिकल कलेज रिफर गरे । चैत १२ मा मेडिकल कलेजमा उनको ६ महिनाको गर्भ तुहियो ।

चिकित्सकका अनुसार कुटपिटका कारण बच्चा पेटमै मरिसकेको थियो । कुटपिटकै कारण गर्भ तुहिएको भन्दै लालचनी र उनका बुवा चन्द्रिकाले पीडकविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिए । प्रहरीले जाहेरीको सत्यताबारे अनुसन्धान गरी निवेदन दिएको २५ दिनपछि वैशाख १७ मा मुद्दा दर्ता गरेको थियो ।

‘एसपी साहेबले सबैको नाम नहाल्नुस् भनेकाले दुईजनाको नाममा मात्र मुद्दा दर्ता गरायौँ,’ चन्द्रिका भन्छन्, ‘मुद्दा दर्ता भएको पनि २० दिन नाघिसक्यो, पीडक गाउँमै घुमफिर गरिरहेका छन् ।’कुटपिट गर्नेलाई गाउँमै निर्वाध रूपमा घुमिरहेको देखेर लालचनी देवी आफूलाई असुरक्षित महसुस गर्छिन् । ‘त्यस दिनको घटना सम्झिँदा आङ सिरिङ हुन्छ। उनले भनिन् पिडकहरु गाउँमै डुलिरहेका छन्, प्रहरीले कुनै चासो देखाउँदैन अब त प्रहरी गुहार्दागुहार्दा थाकिसक्यौं।

स्थानीयले मुद्दाबारे एसपीसँग थप जानकारी लिन खोज्दा उनले यस्ता कुरा सोधेर ‘इरिटेसन’ नगर्नुस् भनेर फोन राख्ने गरेको बताएका छन्। स्थानीयका अनुसार एसपी रेवती ढकालले भने, ‘उनीहरूको बुवालाई बोलाएर छोरा कहाँ छन् भनेर सोधपुछ गरेका छौँ। दुबै हेटौंडा पुगेको खबर छ ।’ खोजविनमा प्रहरी निरन्तर लागिपरेको उनले दाबी गरेका छन् ।

त्यस्तै, पर्साकै मुन्नी खातुनले आफू घरेलु महिला हिंसामा परेको र अदालतको घरेलु महिला हिंसाविरुद्धको फैसलापछि पनि उनीमाथि कुटपिट नरोकिएको बताएकी छन्। गत शुक्रबार घरेलु महिला हिंसाविरुद्ध पर्सा अदालतको फैसला आएपछि मुन्नी खातुन हर्षित थिइन् ।

अदालत गेट बाहिर आउनेबित्तिकै उनका ससुरा जालिम देवान र लक्ष्मी उप्रेतीको समूहले कुटपिट र्गयो । नजिकै रहेको वडा प्रहरी कार्यालय श्रीपुरले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलमा र्पुयायो । ‘त्यहाँ पुगेर उप्रेतीले खातुनले पिटेको आरोप लगाइन्,’ खातुन भन्छिन्, ‘उनलाई प्रहरीले उपचार गराउन अस्पताल पठायो, मलाई नियन्त्रणमा राखे ।’

गत वर्ष विवाह भएपछि श्रीमान र उनको परिवारले घरेलु हिंसा गरिरहेको खातुन बताउँछिन् । जिल्ला अदालतले शुक्रबार घरेलु हिंसाविरुद्धको फैसला उनको पक्षमा गरेको थियो ।

अदालतले श्रीमानको घरमा बसोबास गर्न, खाना लाउन दिन, कुटपिट नगर्न, शिष्ट सभ्य व्यवहार गर्न शारीरिक, मानसिक चोट पुगेको भएमा उपचार गर्न तथा पीडितको हित र सुरक्षाका निमित्त आवश्यक उपयुक्त व्यवहार गर्न विपक्षीको नाममा आदेश गरेको थियो । कुटाइ खाएपछि शुक्रबार साँझ शनिबार पुनः आउने गरी प्रहरीले छाडेको र शनिबार पनि दिनभरि बसाएर साँझमा त्यसै छाडेको उनले बताइन्। महिला सेलमा समेत महिला प्रहरीको कुटपिटबाट आफू पटक–पटक बेहोस अवस्थामा पुगेको उनले बताइन्।

घटना २ : हस्पिटल तोडफोडप्रति बेवास्ता
गत जेठ ७ गते पर्साको वीरगञ्ज महानगरपालिका–१४ स्थित एक हस्पिटलमा भएको तोडफोडमा संलग्न व्यक्तिहरुमाथि प्रहरीले कुनै कारवाहीको प्रक्रिया अगाडी बढाएको छैन। उपचारको क्रममा एक नाबालकको मृत्युपछि मृतकका आफन्तहरुले उपचारमा लापर्वाही गरेको मिथ्या आरोप लगाउँदै हस्पिटलको तोडफोड गरेका थिए। घटनाको स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै हस्पिटलले पर्सा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको थियो ।

तर, प्रमूख प्रहरी उपरिक्षक रेवती ढकालले कुनै बल प्रयोग नगर्न भनेपछि स्थितिलाई नियन्त्रणमा लिन खटिएको टोलीकै अगाडि मृतकका आफन्तले तोडफोड गरेका थिए। बिरामीको उपचारकै क्रममा मिति २०७६।२।७गते मृत्यु भएपछि बिरामीको पक्षका भनिएका व्यक्तिहरुले सुरक्षाकर्मीकै उपस्थितिमा हस्पिटलको लापर्बाही रहेको झुठ्ठा आरोप लगाई हो हल्ला हुल हुज्जत गरी हस्पिटलको भौतिक सम्पतिमा क्षति पुर्याउने र साखमा समेत प्रतिकुल असर पर्ने गैरकानूनी कामकारबाही गरेको तत्काल स्थिति नियन्त्रण बाहिर जान सक्ने र ठूलो जनधनको समेत क्षति पुग्न सक्ने देखि खटी आएका प्रहरी कर्मचारीलाई स्थिति नियन्त्रणमा लिन आवश्यक कदम चाल्न पटक पटक आग्रह गर्दा पनि आफूहरुलाई केही कदम चाल्न आदेश नभएको भनी घटनाको मुकदर्शक भै रहेको र प्रहरी कर्मचारीको रबैयाबाट अनैतिक तथा गैरकानूनी कार्य गर्न उदत पक्षहरुको मनोबल बढाउने काममा लागि परेको हस्पिटलले जनाएको छ।

तोडफोडमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी लगेको केही घण्टामै प्रहरीले कुनै कारबाही नगरी छाडेको र हस्पिटलले किटानी जाहेरी दिँदा समेत हस्पिटलले बेवास्ता गरेको, जाहेरी लिन नमानेको र ठूलो दबाबपछि मात्र जाहेरी लिए पनि घटनामा संलग्नहरुप्रति कारवाहीको कुनै प्रक्रिया अगाडि नबढाएको हस्पिटलले जनाएको छ।

हस्पिटलले आफनो कार्यक्षेत्रभित्र शान्ति र अमनचैन कायम राखी गैरकानूनी गतिविधिलाई निरुत्साहीत र नियन्त्रण गर्न कानुनतः अख्तियार प्राप्त निकायका प्रमूख प्रहरी उपरिक्षक रेवती ढकालले आफ्नो कर्तव्य ईमान्दारी तथा निष्ठापूर्वक पालना नगरेको बताएको छ ।

गैरकानूनी कार्य गरी समाजमा शान्तिीसुरक्षामा खलल पार्न उद्दत् व्यक्तिहरुको मनोबल बढ्ने गरी कुनै कानूनी कार्यबाही नगरी घटनामा संलग्न भनि अनुसन्धानका लागि पक्राउ परेकालाई हिरासतमा नराखि बिना कानूनी आधार रिहा गरेर प्रचलित कानून प्रतिकुलको कार्य गरेको भन्दै प्रमूख प्रहरी उपरिक्षक रेवती ढकाललाई कारवाहीको माग गर्दै हस्पिटलले गृहमन्त्रालयमा दर्खास्त समेत दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्