तर्कनाको ‘जेब्रा क्रस’माथि राजुबाबुको समीक्षा

rajbabu shrestha
लाेकपाटी न्यूज

राजुबाबु श्रेष्ठ सागर÷काठमाडौं । पछिल्लो समय प्रायः सबै किसिमका लेखकहरु उपन्यासतिर ढल्केको पाइन्छ । कविता, कथा, निबन्ध, गीत जुनसुकै विधाका लेखकले पनि उपन्यासलाई माया गरेजस्तो देखिन्छ । त्यसो त उपन्यासलाई धेरै पढिने विधा पनि मानिन्छ । कतिपयको नजरमा उपन्यास साहित्य जगतको नाम र दाम दुवै कमाउन सकिने विधा हो भनेको पनि सुनिन्छ र सत्य हो पनि ।

किनकि, उपन्यासमा कथाभित्र संवाद, पटकथा, पात्र, घटना, परिस्थिति, समाजिक मूल्य र मान्यता, दुःख सुख, संयोगात्मक, वियोगात्मक, गरिबी–अमिरी, न्याय–अन्याय, उत्पीडन र उन्मुक्तिका कथा र व्यथालाई आख्यानको सुत्रमालामा उनेर, बडो रूचीपूर्वक ढङ्गले लेखकहरूले एक चलचित्रमाझैं पस्किएको हुन्छ र पाठकहरूले पनि चलचित्रकै पात्रझैँ सम्झी उपन्यासमा चलचित्र नै हेरिरहेका हुन्छन् ।

एक कुशल लेखकले उपन्यासमा क्युरिसिटी म्याग्नेट क्रेट गरेको कारणले पनि पाठकमा अब के हुन्छ त, अब यसपछि के आउँछ त भन्ने एक छुट्टै किसिमको पाठकीय रस बनेको हुनाले पनि उपन्यास पाठकहरूको एक रुचीको विषय बन्न पुगेको हो । अझै भनूँ, उपन्यासलाई युरोपतिर एक नयाँ महाकाव्यको रूपमा पनि लिने गरिएको पाइएको छ ।

त्यसैले, अहिले बजारमा उपन्यासको माग बढ्दो छ र हालका कविहरू पनि कवितालाई थन्क्याएर आख्यानकै जोडतोडमा हार–जीतको बाजी खेलिरहेका देखिन्छन् ।

मैले लेखक सुबिन भट्टराईको उपन्यासदेखि लिएर मदन पुरस्कृत उपन्यासहरू मात्रै झन्डै तीन दर्जन जति र अरू पनि थुप्रै आख्यान र गैर आख्यानहरू पढिसकेको छु । सबैमा आ–आफ्नै विषयवस्तु र समाजिक चित्रण रहेको पाइएको छ । कुनै पनि लेखकहरूले सम्भवत पाठकहरूकै हृदयभित्र गहिरो परेड खेल्न सकियोस् र कृतिले अपार सफलता प्राप्त गरोस् भन्ने हेतुले नै जोड्तोड प्रयास गरी लेखिएको पाइन्छ । केही राम्रा लेखकहरूले आख्यानमा अपार सफलता, नाम र दाम दुवै कमाएको पनि यदाकदा सुन्नमा आएकै हो ।

हाम्रो प्रायजसो भेट नभएता पनि आक्कल–झुक्कल भृकुटीमण्डपतिर चियापिउँदा भेट हुने तर्कना शर्माज्यूलाई योभन्दा पहिले म समाजका सीमान्तकृत वर्गलाई रचनामा विशेष स्थान दिन रुचाउने लेखिका र कविता, गीत र समालोचनमा कलम चलाउने एक प्रखर लेखिकाको रूपमा चिन्दै आएको थिएँ । तर, आज आएर शर्माज्यूको पहिलो आख्यान उपन्यास जेब्र क्रसले शर्माज्यूलाई अब एक राम्रो आख्यानकारको लिस्टमा स्थापित नाम राख्न सफल भएको पाइएको छ । जसको चर्चा परिचर्चा बजारमा निकै सुन्दै आएको छु ।

लेखिका शर्माज्यूले जेब्रा क्रस उपन्यासमा नायिका ‘भावना’ को भावनाभित्र एक सपनाको राज कुमारको परिकल्पना रहेको दर्शाएको छ । जसमा जीवनको अर्थ जिउनु हो र प्रकृतिले दिएको भौतिक शरीरले भौतिक भोग गर्नु भनेको सृष्टी हुनुको सही अर्थ हो भनेर प्रष्ट्याइएको पाइन्छ । र, अर्को पाटो जिउनु भनेको प्रेमको उद्यानमा फूल भएर फक्रनु हो । यही जीवन जिउनुको अर्थमा जिउनलाई रहरभित्र प्रेम, माया र विपरित लिङ्गको जिजीविषा टुसाइरहने हुँदा, प्रेमको सिला खोज्दै जाँदा भेट हुन्छ भावनालाई एक सपनाको राजकुमार पृन्सिपल ुबिराजु ।

अब उपन्यास जेब्रा क्रसको असली कथा बिराजको इन्ट्रीबाट इन्ट्री हुन्छ । जब बिराजले भावनालाई निकै नै इमोस्नल बनाएपछि सहमतिमा पच्चास रुपियाँको सिन्दूरले वैवाहिक जीवनको सूत्रमा बाँधिन्छन् दुवै जना । तर, अचम्म लाग्दो कुरा के छ भने यो उपन्यासमा विवाहको पहिलो सुहागरातमै बिराज अलग्गिएर सुतेको देख्दा, कता–कता भावनाको मनभित्र शंकाका असंख्य पालुवाहरू टुसाउन थाल्दछन् ।

भावना आफूलाई भावना हुनुको अर्थ खोज्नु थाल्छे । भावना आफूमा, भौतिक शरीर हुनुको अर्थ के त रु भावना आफूमा, भौतिक शरीरले भौतिक भोग नै गर्नु पाएन भने जिउनुको असली माने के त रु भावना प्रकृतिले दिएको शरीरमा देखिने बिम्ब आँखाको दोखा हो या शरीरको खोलभित्र लुकेको अरू नै कुनै गहिरो समुद्री रहस्य रु आदिइत्यादी रहस्यको उद्यानमा जटिलताको प्रश्नहरू टिपेर समस्याको डालोमा थुपार्दै जान्छे ।

भावना सपनाको राजकुमारमा साक्षत बिराज नै आफूले पाउँदा, कल्पनामा भौतिक शरीरको चरम् आनन्दमा चुर्लुम्म डुब्छे । जस्तोकि, मेरा लजाएका गाजलु आँखाले उसको मदहोस मुहार नियाल्नेछन् । अचानक उसले मलाई जोगी लहराले पैँयुँको रूखलाई बेरेजस्तै अँगालोमा बेर्ने छ । अलिकति झुकेर भन्ने छ – ‘त्यसरी न हेरन रानी । तिम्रा आँखामा आगोको लप्का छ । म जलेर भस्म हुनेछु ।’

उफ् झुकेर उसले मेरो निधारमा चुम्ने छ अनि गाला, नाक, ओठ । उसका खिरिला औँलाहरूले अरू केके स्पर्श गर्ने छ कुन्नि रु उफ् १ मैले आफैंलाई बिर्सिसकेकी हुनेछु त्यत्तिखेर सायद । म होसमै रहँदिन होला सायद । म पनि त्यसैगरी आफूलाई खोल्दै जानेछु, जसरी उसले खोल्न चाहन्छ मेरो यौवनको कसिला गाँठाहरू ।

खै ऊ मेरो कुन–कुन संवेदनिशील अङ्गको गहिराइमा गोता मार्ने होला कुन्नि रु अनि ऊ आफैँ लुथ्रुक्क भिज्ने छ र मलाई पनि आलु उसिनिएझैँ उष्ण बनाउने छ । अझै भनूँ, बडेमानको फलाम तातेर सेलाउन समय लागेजस्तै, मलाई त्यो उष्णबाट सामान्य हुन घण्टौं समय लाग्ने छ होला सायद । (जेब्रा क्रस–९६)

उपन्यासमा नायिका भावनाको मनभित्र यस्ता किसिमका जिजीविषाका लत्ती बडिरहन्छ भने, नायक बिराज बारम्बार भावनालाई इमोस्नल ब्ल्याक्मेल गर्दै टर्च दिई आफूभित्र भएको रहस्यलाई ‘राज युनिवर्सिटी’ शिक्षाद्वारा बुझिदेओस् भन्ने प्रत्यत्नतिर प्रयत्नरत भएकाे देखिन्छ ।

एकदिन, बिराजले आफू गे अथवा समलिङ्गी रहेको रहस्य खोल्छ । आफू भावनाको लागि सक्षम नहुँदा पनि समाज र आफ्नो परिवारको लागि एक असल पुरूष देखिरहुँ भन्ने हेतुले श्रीमती भावनालाई अनेक किसिमको बच्चा जन्माउने उपाय र शारीरिक सन्तुष्टी लिने बरेमा कृत्रिम सेक्स टोयको प्रयोग गर्ने बारेमा राय र सुझाबहरू शेर गर्ने गर्छन् । तर, भावना यी सब कुरालाई लत्याउँदै अदालति प्रकृयाद्वारा डिभोर्स लिएर हमेशाको लागि श्रीमतीको नामबाट आफूलाई रिलिज गर्छे ।

लेखिका शर्माले उपन्यास जेब्रा क्रसमा नारीको एक महत्वपूर्ण भूमिका चित्रण गर्दै नारी पुरुषको दास र रखेल भएर बस्नु हुन्न भन्ने कुरामा पनि जोड दिएको पाइन्छ । शर्माले यस उपन्यासमा अरू लेखकहरू भन्दा एक छुट्टै पृथक विषयवस्तुको उत्थान गर्दै समलिङ्गी समस्यालाई हेपाह र घृणा दृष्टीले होइन समाजले उनीहरूलाई महत्वपूर्ण मान सम्मान र स्थान दिनुपर्छ भन्दै गम्बुबाकै सहयोगमा गम्बुबाकै निवासमा जेब्रा क्रस नामक समलिङ्गी संस्था खोली एक अन्तराष्ट्रिय स्तरमा नै समलिङ्गीलाई आमरूपमा निर्धक्क उठेर अघि बढ्न प्रेणामूलक सकारात्मक सन्देश दिएको पाइएको छ ।

जसमा आफै‌ंले सम्बन्ध बिच्छेद गरेको आफ्नै श्रीमान समलिङ्गी आफै‌ंले खोलेको जेब्रा क्रस नामक संस्थाको सदस्य समेत हुन आएको दर्शाएको छ । उपन्यासले समाजमा भएका सामाजिक विकृतिलाई औँल्याउँदै समाजमा रहेका धनी–गरीब बिचको खाडल, महिला पुरुष बिचको खाडल अनि शिक्षित र अशिक्षितहरु बिचको खाडलको संरचना केलाएका छन् । बिग्रिएको समाजलाई सुधार्ने अनि समाजलाई बिग्रन नदिने शिक्षा र चासो हुनुपर्छ भन्ने कुरा समेत उपन्यासले देखाउन खोजेको छ ।

उपन्यासले मानव जीवनलाई विभिन्न पाटोबाट परिभाषित गर्न खोजेको छ । कहिले सन्तुष्टि, कहिले अभाव, पीडा, दुःख–दर्द, आँसु –हाँसो जीवनका पाटाहरु हुन् । उमेरसँगै यी र यस्ता अवस्थाहरु पनि पार गर्दै जानुपर्छ भन्ने कुरा उपन्यासकारले उपन्यासमा देखाउन खोजेका छन् ।

थोरै अलिकति मलाई चित्त न बुझेको कुरा के भने, लेखिका शर्माले प्रकृतिले दिएको भौतिक शरीरको सही उपयोग हुनुपर्छ र जसरी भोकले आहार मागेजस्तै शारीरिक अङ्गले पनि संभोगको भोक जाहेर गर्दछ भनेर नायिका भावनालाई पनि अर्को बिहे गराएर समाजमा एक सकारात्मक शिक्षा दिन सकिन्थ्यो कि भन्ने मेरो जिज्ञासा थियो । तर, बिहे गरेको मैले उपन्यसको कुनै पनि पृष्ठमा देखिनँ ।

अन्ततः लेखिकाले पोख्न खोजेको सम्पूर्ण उपन्यासको सार मैले त यही ‘भन्देऊ न’ कवितामा नै भेटें । धेरै–धेरै बधाई तथा शुभकामना छ तर्कना शर्माज्यूलाई । एक पाठक बनेर एक मीठो उपन्यास पढ्न पाएकोमा ।

कविता – भन्देऊ न

जीवनको प्रेम

न खोजेको भए

जन्मदैनथ्यो होला जेब्रा क्रस

त्यो त्यही सानदार

अनि कठिन प्रेमको पाखो हो ।

बाटाहरू सधैं

सिधा र सरल कहाँ हुन्छन् र रु

जे देखिन्छ, त्यो जीवन होइन

जे देखिन्न

त्यो जीवनको सही अर्थ होइन ।

प्रकृतिको

लीला पनि कस्तो अपार

अदृश्य भित्रै

रहस्यै रहस्यको कठिन बन्कर

सेती नदीको भङ्गालोजस्तै ।

भन्देऊ न

म आँखालाई विश्वास गरूँ कि

प्रकृतिलाई । (जेब्रा क्रस–२४३)

पुस्तक–उपन्यास (जेब्रा क्रस)
लेखक–तर्कना शर्मा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्