महिला हिंसा न्यूनीकरणका लागि मार्सल आर्ट्स

selfdefence
लाेकपाटी न्यूज

चितवन, १३ जेठ । महिला हिंसा तथा बलात्कारको न्यूनीकरण गराउने उद्धेश्यले प्रदेश ३ को सामाजिक विकास मन्त्रालयको सहयोगमा चितवनमा एक हप्ते आत्मरक्षा तालिम सुरु गरिएको छ।

चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिकाको ऐतिहासिक क्षेत्र उपरदाङगढी, कापे, शक्तिखोरमा सञ्चालन गरिएको तालिमको आयोजना भरतपुरको अल मार्सल आर्टस एकेडेमीले गरेको हो।जेठ १७ गतेसम्म सञ्चालन हुने सो मार्सल आर्ट्स तालिमको उद्घाटन प्रदेश नं. ३ का सांसद एवं शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति घनश्याम दाहालले गरेका हुन्।

तालिमको उद्घाटनका क्रममा दाहालले प्रदेश ३ सरकारले योजना बनाएर खेलकुदमा लगानी गर्ने बताए। प्रदेश सरकारले खेलकुदको विकासका लागि विभिन्न अवधारणा अघि सारेको उल्लेख गर्दै दाहालले ३ नम्बर प्रदेशको प्रत्येक जिल्लामा रंगशाला, हरेक निर्वाचन क्षेत्रमा कबर्ड हल तथा स्थानीय तहमा व्यवस्थित खेल मैदानको अवधारण अगाडि सारेको बताए।

पछिल्लो समय महिला हिंसाका घटनाहरुमा बृद्धि भएको उल्लेख गर्दै दाहालले यसको नियन्त्रणका लागि तीन तहकै सरकारले योजना बनाउनुपर्ने बताए। प्रदेश सरकारले ल्याएको आत्मरक्षाका लागि मार्सल आर्टस तालिमले किशोरी तथा महिलाहरु लाभान्वित हुने उल्लेख गर्दै दाहालले अब खेलाडीहरुको भविष्य समेत उज्ज्वल हुने बताए। तालिम उद्घाटनका क्रममा नेपाल राष्ट्रिय मुवाथाई संघका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ प्रशिक्षण गणेशलाल कक्षपतीले हरेक नागरिकका लागि मार्सल आर्टस तालिम आवश्यक रहेको बताए।

किशोरीहरुको आत्मरक्षाका लागि मात्रै नभएर व्यक्तिको स्वास्थ्य मजबुत बनाउनका लागि समेत तालिम आवश्यक भएको बताए। आफूहरुले प्रदान गर्ने ६ दिने तालिममा सिकेका ज्ञानलाई गलत तरिकाले प्रयोग गर्न नहुने उल्लेख र्दै कक्षपतीले आत्मरक्षाका लागि मात्रै प्रयोग गर्नुपर्ने बताए।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ३ की सदस्य संगीता भट्टराईले प्रदेश सरकारको सहयोगमा सञ्चालित तालिमले महिला हिंसा रोक्नका लागि मद्दत पुग्ने बताइन्। यो तालिमले महिलाहरुलाई शारीरिक हिसाबले मात्रै नभइ मानसिक हिसाबले समेत बलियो बनाउने भट्टराईको भनाइ छ।

हिंसामुक्त समाज निर्माणका लागि खेलाडीहरुको भूमिका अहम हुने भन्दै खेलकुदको विकासका लागि सबै जुट्नुपर्ने भट्टराईले बताइन्। सो कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले तालिमले खेलकुदको विकासँगै अपराधमुक्त समाज निर्माणमा सघाउ पुर्‍याउने बताए।

तालिममा सहभागीहरुलाई नेपाल राष्ट्रिय मुवाथाई संघका केन्द्रीय अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक गणेशलाल कक्षपती, अल मार्सल आर्टस एकेडेकीका अध्यक्ष एवं प्रशिक्षक उत्तम गुरुङ, खेलाडी ईश्वर सापकोटालगायतले प्रशिक्षण दिनेछन्। महिलाहरुलाई मानसिक र शारीरिक रुपमा बलियो बनाउने उद्धेश्यले आत्मरक्षाको लागि मार्सल आर्टस तालिम प्रदान गरिएको प्रशिक्षक उत्तम गुरुङले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्