सोलुखुम्बु, १३ जेठ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वच्छ वातावरण र दीर्घ जीवन चाहने संसारभरका मानिसलाई सगरमाथा हिमाल सफाइ अभियानमा जोडिन आह्वान गरेका छन्।
सगरमाथा हिमाल सफाइ अभियान २०७६ का अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले भने, ‘वातावरण र हिमाल संरक्षणमा रुची राख्ने विश्वभरकै मानिसका लागि यो अभियान जनचेतना जगाउने अभियानका रुपमा रहेको छ।’ नेपालका गौरवपूर्ण इतिहास बोकेका प्राकृतिक र ऐतिहासिक गढी, चुरे पहाड, हिमाललगायतको संरक्षण र सम्वद्र्धनमा नेपाली सेनाले उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै उनले मुलुक र जनताको हितमा सेनाले निरन्तर कार्य गर्दै आएको उल्लेख गरे।
सगरमाथा र खुम्बु क्षेत्रको विकासका लागि स्थानीय तह र प्रदेश सरकारले ल्याउने योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि सरकारले पूर्ण सहयोग गर्ने बताउँदै उनले यस क्षेत्रको विकास र समृद्धिका लागि सबैको सकारात्मक प्रयास आवश्यक रहेको बताए।



लाेकपाटी न्यूज

