काठमाडौं, १३ जेठ। काठमाडौंको कोटेश्वरबाट प्रेसर कुकरसहित पक्राउ परेका प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव)समूहका ७ जना कार्यकर्तामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ परेकाहरुसँग प्रहरीले प्रारम्भिक बयान लिएको छ। उनीहरुले राजधानीका विभिन्न स्थानमा बम विस्फोट गराउने योजना बनाएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई सोमबार नै अदालतमा उपस्थित गराएर म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।
उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। पक्राउ पर्नेहरुमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिराम पुन, बुद्धिबहादुर सुनार, राकेश श्रेष्ठ, चित्रकमल ओली र डम्बरबहादुर तामाङ रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले ४ वटा प्रेसर कुकर, चन्द समूहको ब्यानर, पर्चा, केही किताब र कागजात बरामद गरेको छ।



लाेकपाटी न्यूज

