काठमाडौं। आज विप्लव नेकपाको नेपाल बन्द। भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे प्रहरीको गोलीबाट मारिएपछि विप्लवले प्रतिरोधस्वरुप नेपाल बन्दको आयोजना गरेको हो। बन्दको पूर्वसन्ध्यामा आइतबार देशव्यापी बम बिस्फोट भएका छन्।
कान्तिपुरले ‘चन्द समूहको आतंकः राजधानीमा श्रृंखलाबद्ध विस्फोट’ शीर्षक दिएर आइतबार भएको श्रृंखलाबद्ध बम विस्फोटबारे मुख्य समाचार लेखेको छ। आइतबार राजधानीको सुकेधारा, घट्टेकुलो र थानकोटमा बम विस्फोट भएका थिए। जसमा ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते छन्। ४ स्थानमा भने समयमै डिस्पोज गरिएको छ।
सोमबारको बन्द सफल पार्न त्यसअघि नै आतंक सिर्जना गर्न विप्लव नेतृत्वको समूहले श्रृंखलाबद्ध बम विस्फोट गराएको कान्तिपुर समाचारमा उल्लेख छ। बम बिस्फोटमा आफ्नै कार्यकर्ताको ठूलो संख्यामा हातहाती भएको छ। टाइमिङ नमिल्दा आत्मघाती बिस्फोटको शिकार भएका छन् कार्यकर्ता।
विस्फोटका घटनालगत्तै गृह मन्त्रालयमा सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापाले सबै सुरक्षा निकायलाई कडा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको गृहमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’लाई उद्धृत गर्दै कान्तिपुरले समाचार लेखेको छ।
विस्फोटले राजधानीको जनजीवन त्रस्त बनेपछि गृहमा सबै सुरक्षा निकायका प्रमुखलाई डाकेर गृहमन्त्रीले आकस्मिक बैठक राखेको अन्नपूर्णले लखेको छ। अन्नपूर्णका अनुसार, यसरी बोलाइएको बैठकमा गृहमन्त्री थापाले देशभरको सुरक्षा व्यवस्था बजबुत बनाउन निर्देशन दिएका छन्।
विस्फोटका घटनाप्रति कांग्रेसले देखाएको चासोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ। अन्नपूर्णका अनुसार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै राज्य तथा विद्रोही पक्षलाई सम्वादमा बस्न आग्रह गरेको छ।
नागरिकले विप्लवको बमले आफ्नै कार्यकर्ताको ज्यान लिएको लेखेको छ। विस्फोटका कुन–कुन कार्यकर्ताले ज्यान गुमाए भन्नेबारे भने नागरिकले केही उल्लेख गरेको छैन।
नयाँ पत्रिकाले पनि श्रृंखलाबद्ध बम विस्फोटकै विषयलाई नै मुख्य समाचार बनाएको छ। र, यसले केही नयाँ तथ्यहरु ल्याएको छ। नयाँ पत्रिकाका अनुसार विप्लव कार्यकर्ताले टाइमर मिलाउन नजाँदा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। सोमबार बिहान ४ः१५ मा विस्फोट गर्नेगरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरी भनाइ छ।



लाेकपाटी न्यूज

