चितवन। भरतपुर महानगरपालिकाको आगामी बजेट समग्र विकासमा लगाउने बताएकी छिन्। भरतपुरमा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को प्रि–बजेट अन्तक्र्रिया कार्यक्रममा महानगर प्रमुख दाहालले गएका वर्षहरुमा पूर्वाधार विकासमा अझ विशेष गरी सडकमा बढी बजेट लगाइएको बताउँदै भनिन्, ‘विगतका वर्षहरुमा पूर्वाधारमा बढी बजेट केन्द्रित गरियो, अब समग्र विकासमा बजेट केन्द्रित हुनेछ।’
कार्यक्रममा महानगर प्रमुख दाहालले अबको बजेटमा शिक्षा र कृषिलाई विशेष प्राथमिकता दिइने बताइन्। उनले भनिन्, ‘बजेट महानगरको दिगो र सन्तुलित विकासका लागि बजेट केन्द्रित हुनेछ।’ तीव्र विकासमा होमिएको महानगरलाई देशकै नमूना महानगर बनाउने अभियानमा लागिरहेको प्रमुख दाहालले बताइन्।
कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव वैकुण्ठ अर्यालले सबै स्थानीय तहलाई असार १० भित्रै बजेट ल्याउन र असार मसान्तभित्र पास गर्न आग्रह गरेका छन्। कार्यक्रममा उनले भने, ‘बजेट उत्पादनमूलक काममा खर्च गरौँ, छर्ने तरिकाले खर्च नगरौँ।’
उनले कृषिमा उत्पादनसँग जोडेर बजेट विनियोजना गर्न जोड दिए। उनले भने, ‘बजेट कार्यान्वयनमा कठोर हुनैपर्छ, नत्र कार्यान्वयन हुँदैन, यसका लागि कठोर बन्न जनप्रतिनिधिहरुलाई आग्रह गर्दछु।’ बजेट प्लानिङ र प्राथमिकताको आधारमा विनियोजन गर्न अर्यालले आग्रह गरे।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा समेट्नुपर्ने विषयमाथि प्रकाश पारेका थिए। कार्यक्रममा उनले उत्पादन वृद्धि, शिक्षा, स्वास्थ्य र जनशक्ति विकास, सरसफाइ हरियाली तथा विपद व्यवस्थापन, युवा सरोकार खेलकुद तथा रोजगारीमा बजेट केन्द्रित गरिनुपर्ने बताए।
कार्यक्रममा महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, पर्यटन विज्ञ विश्व सुवेदी, उद्योग संघका वरिष्ठ उपाध्यक्ष राजु पौडेल, शिक्षाविद् रमाकान्त सापकोटा, वडा नं ४ वडाध्यक्ष हरिप्रसाद आचार्य, ६ का वडाध्यक्ष हरिविलास कोइराला, शिक्षा शाखाका रुद्र शर्मा लगायतले मन्तव्य राखेका थिए।



लाेकपाटी न्यूज

