चार अभियोगमा २५ पक्राउ, कुनमा कति ?

arrest
लाेकपाटी न्यूज

काठमाडौं, १२ जेठ। अभियोग १ः काठमाडौं महानगरपालिका–१५ स्वयम्भुस्थित फेन्सी पसल संचालन गरी बस्ने सिन्धुपाल्चोक पाङग्रेटार घर भएकी ३६ वर्षीया अपसरा श्रेष्ठ (कार्की) लाई ब्ल्याङ्क चेक लिई रकम बढाई चेक बाउन्स गरेको अभियोगमा शुक्रबार महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

अप्साराले अशिक्षित महिला तथा पुरुषहरुलाई घर व्यवहार चलाउन बढीमा २०÷२५ हजार ऋण सापटी दिई सावाँ रकम असुली गर्नु अगावै बिश्वास दिलाई ब्ल्याङ्क चेक लिने र आफू खुशी रकम लेखी चेक बाउन्स समेत गराई, सावाँ, व्याज अशुल गरे पनि चेक फिर्ता नगरी आफूखुशी रकम थप गरी दुख हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अप्सराको पसलबाट बिभिन्न बैकका ब्ल्याङ्क चेक लगायत सामानहरु समेत प्रहरीले बरामद गरेको छ ।

अभियोग २ः प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं महानगरपालिका–१२ टेकुका ३२ वर्षीय सागर च्यामेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वर चुनीपाखामा खटिएको प्रहरीले तलासी गर्ने क्रममा सागरको साथमा लागूऔषध फेनारागन १ एम्पुल, नोर्फिन १ एम्पुल र डाइजेपाम १ एम्पुल सहित सागरलाई फेला पारी पक्राउ गर्ने क्रममा छाड्नको लागि १ हजार ५० रुपैँया दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । सागरलाई उक्त लागूऔषध र नगद सहित पक्राउ गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै भक्तपुर नगरपालिका–१० कमलबिनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने काभ्रे बनेपा बस्ने सिन्धुपाल्चोकका १९ वर्षीय रुपेश माझीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बा.३ ख ५४२४ नम्बरको ट्रिपर जाँच गर्ने क्रममा सहचालकले चलाएको अवस्थामा फेला पारी पक्राउ गर्न खोज्दा प्रहरीलाई १ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनलाई उक्त रकम र ट्रिपर सहित प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अभियोग ३ः काठमाडौं महानगरपालिका–१५ स्वयम्भू विजेश्वरीस्थित राजेन्द्र श्रेष्ठको टहरामा जुवातास खेलिरहेका सानेपा बस्ने अर्घाखाँची शितगंगा नगरपालिका–४ घर भएका ४६ वर्षीय आनन्द पौडेल लगायत १० जनालाई नगद ४० हजार २ सय ४५ रुपैयाँ र ३ बुक ताससहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सोही महानगरपालिका धिमिलोस्थित राजभाई कर्मचार्यको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने धादिङ सुनौला बजारका ४२ वर्षीय रुद्र श्रेष्ठ लगायत १० जनालाई नगद २७ हजार ८ सय १० रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

अभियोग ४ः पूर्व प्रहरी हुँ भनी ठगी गर्ने अर्घाखाँची सितापुर–६ घर भएका ३० वर्षीय हरिलाल खनाल र सोही ठाउँस्थित पिप्रा बस्ने १९ वर्षीय कपिल रिजाललाई शनिबार दिउँसो महागरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा सनराइज बेकरी सप संचालन गर्ने नुवाकोट विदुर नगरपालिका–७ रातमाटे घर भएका विनोद नेपाललाई जेठ ६ गते पूर्व प्रहरी हुँ भनि १ लाख रुपैयाँ ठगी गरी हरिलाल र कपिल फरार भएको भन्ने सूचनाको आधारमा उनीहरुलाई काठमाडौं जमलबाट प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्