प्रधानमन्त्री नसच्चिए नेकपा सकिन्छ : प्रकाशमान सिंह

लाेकपाटी न्यूज

 काठमाडौं, १२ जेठ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका बोली र काम गराई संविधानको मर्म विपरित रहेकोभन्दै उनले त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा औंल्याए। राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई अपिल गरे।

‘प्रधानमन्त्रीमा अंहकार र दम्भ बढेको छ। संविधान केही होइन, अब म जे बोल्छु त्यही नै सबैले मान्नुपर्छ भने जस्तोगरी प्रस्तुत हुनु अशोभनीय छ,’ उनले भने, ‘दम्भ र अहंकार त्यागेर संविधानको पालना गर्नुपर्छ ।’प्रधानमन्त्री ओलीले आफूलाई नसच्याए जनतासँगको भावनात्मक सम्बन्ध टुट्ने र अहंकार पनि अन्त हुने चेतावनीसमेत दिए।

उनले भने, कांग्रेसको कार्यकर्ता हुँ भन्ने, तर अनुशासनमा नबस्ने, कुनै नेता विशेषको बनेर पार्टीभित्र असहयोग गर्नेहरुलाई ठेगान नलगाउँदासम्म कांग्रेस बलियो हुन सक्दैन, राजधानीबासीको सबैभन्दा चासो र सरोकार जोडिएको मेलम्ची खानेपानीको काममा भ्रष्टाचार भएका कुराहरु सार्वजनिक भइरहेकाले यो दुःखद भएको बताए।

‘मन्त्री र सचिवले ठेकेदार कम्पनीसँग पैसा मागेकाले ठेकदार कम्पनीले हात झिकेको कुरा आइरहेको छ। यो अत्यन्त दुःखद हो,’ उनले भने। भ्रष्टाचारका मुद्दाहरुमा निष्पक्ष ढंगले छानबिन गरेर दोषीलाई दन्डित गर्न समेत सरकारले आनाकानी गरिरहेको उनले बताए।

भ्रष्टाचार गर्दिनँ भन्ने नारा जप्ने, तर ठूला भ्रष्टाचारका मुद्दाहरु ओझेलमा पार्दै जाने काम अहिलेको सरकारले गरेको उनको भनाइ छ। कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिंहले पद ओगटेका व्यक्तिहरुले पार्टी र संगठनको काम झारा टारेजस्तो गरी गरिरहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्