उर्जामन्त्री पुन र राष्ट्रसंघका उपमहासचिवबीच भेटवार्ता

लाेकपाटी न्यूज

काठमाडौं, ११ जेठ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ झेनमिनबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भएको भेटवार्तामा उर्जा क्षेत्रमा युएन र सरकारबीच गर्न सक्ने सहकार्य र दिगो विकासको बारेमा छलफल भएको छ।

मन्त्री पुनले भेटमा नेपालले उर्जाको पहुँचलाई प्राथमिकतामा राखरे काम गरिरहेको बताए। उनले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादज गर्ने लक्ष्य सरकारले राखेको भन्दै त्यसका लागि काम अघि बढिरहेको जानकारी दिए।

अमेरिकाको न्यूयोर्कमा शुक्रबार राष्ट्रसंघीय फोरमलाई सम्बोधन गरेपछि मन्त्री पुनले त्यहाँका उपमहासचिवसँग भेटवार्ता गरेका थिए। भेटमा मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै देशमा स्थिर सरकार बनेको र अहिले दिगो विकास लक्ष्य सहित सामाजिक–आर्थिक विकासको बाटोमा अगाडि धारणा राखे।

उनले सफा उर्जाबाट आयातित पेट्रोलियम घटाउँदै जाने नेपालको लक्ष्य रहेको बताउँदै अहिले निर्माण भइरहेका जलविद्युत परियोजनाबाट यस क्षेत्रमा महत्वपूर्ण प्रगति भइरहेको दाबी गरे। पुनले एसडीजी सेभेनको लक्ष्य महत्वपूर्ण भएको भन्दै त्यसलाई पूरा गर्न सरकारले कार्यक्रममै राखेर उच्च प्राथमिकताका साथ अघि बढाएको बताए।

जवाफमा उपमहासचिव झेनमिनले नेपालको उर्जा र जलविद्युतको क्षेत्रमा निकै ठूलो सम्भावना रहेको भन्दै संयुक्त राष्ट्रसंघको आर्थिक, सामाजिक तथा विकास परिषद् सहकार्य गर्न ईच्छुक रहेको धारणा राखे। उनले उर्जा क्षेत्रमा पनि नेपालले गरिरहेको प्रगतिको प्रशंसा गरे। उपमहासचिव झेनमिनले संयुक्त राष्ट्रसंघ नेपाल सरकारसँग नजिक रहेर काम गर्न ईच्छुक रहेको समेत बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्